इजरायल जान नेपाली महिला केयरगिभरको आवेदको संख्यामा कमि
काठमाडौँ। इजरायलमा नेपालीबाट सहायक श्रमिक (केयरगिभर) को काममा लैजान इजरायल सरकारले गरेको मागमा महिलाको कम आवेदन परेको छ । वैदेशिक रोजगार विभागका अनुसार इजरायलले महिला केयरगिभरका लागि एक हजार १३२ जनाको माग गरेकामा ६९० जना (मागको ६१ प्रतिशत) महिलाको मात्र आवेदन परेको हो ।
पुरुषतर्फ भने ३३२ जनाको माग गरेकोमा एक हजार १४५ जना अथवा मागको तीन गुणाभन्दा बढी आवेदन परेको विभागले जनाएको छ । विभागले गत असोजको पहिलो साता इजरायलमा केयरगिभरमा जान एक हजार ४६४ जनाका लागि आवेदन खुला गरेको थियो ।
विभागका अनुसार सो मागमा करिब १६ हजारको आवेदन परे पनि आवेदन प्रक्रिया पूरा गर्नेको सङ्ख्या एक हजार ८३५ जना मात्रै थिए । आवेदन प्रक्रिया पूरा गरेकामध्ये इजरायल रोजगारीका लागि अनिवार्य मानिएको ‘अफ स्किल’ अङ्ग्रेजी भाषा परीक्षा उत्तीर्ण गर्नेको सङ्ख्या भने एक हजार ६८७ छ ।
विभागको इजरायल शाखा प्रमुख गगन विष्टले पुरुषतर्फ उच्च आकर्षण रहे पनि महिलातर्फ माग अनुसार आवेदक नपुग्दा उम्मेदवार छनोट तथा आपूर्ति प्रक्रियामा नयाँ चुनौती खडा भएको बताउनुभयो । साथै उहाँले महिलाको मागभन्दा कम र पुरुषको मागभन्दा बढी आवेदन परेको विषयमा नेपालमा रहेको इजरायली दूतावासमार्फत इजरायललाई जानकारी गराइसकेको बताउनुभयो ।
उहाँका अनुसार पुरुषको मागभन्दा ८१३ जना बढी र महिलाको मागभन्दा ४४२ जना कम आवेदन परेको छ । भाषा परीक्षा उत्तीर्ण गर्नु र आवेदन प्रक्रिया पूरा गर्नु फरक फरक चरण भएकाले परीक्षा उत्तीर्ण गरेका सबैले आवेदन नदिएको हुन सक्ने सो शाखाका प्रमुख विष्टको बुझाइ छ ।
विभागले प्राप्त आवेदनको विवरण परीक्षण तथा प्रमाणीकरण गरिरहेको छ र प्रक्रिया पूरा भएपछि योग्य उम्मेदवारको नामावली सार्वजनिक गर्ने जनाएको छ ।
विगतमा महिलाका लागि इजरायलको केयरगिभर सेवा सुरक्षित र मनग्गे आम्दानी हुने आकर्षक अवसर मानिँदै आएको थियो । तर पछिल्लो समय इजरायल र इरानबिच चर्किएको युद्ध तथा सुरक्षा जोखिमका कारण नेपाली महिला त्यसतर्फ जान उत्साहित नदेखिएको बुझाइ विभागको छ ।