एनपिएल ३ मा च्याम्पियन लुम्बिनी लायन्सको विजयी सुरुवात
काठमाडौँ । उपाधि रक्षा अभियानमा रहेको लुम्बिनी लाइन्सले सोमबार पहिलो खेलमा सुदूरपश्चिम रोयल्सलाई सात विकेटले हराएर तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा शानदार सुरुवात गरेको छ । गत वर्ष लुम्बिनी लायन्स सुदूरपश्चिम रोयल्सलाई नै फाइनलमा निराश पारेर च्याम्पियन बनेको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेपछि पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्स १७ं.२ ओभरमै ८७ रनमा अलआउट भएको थियो । लुम्बिनीले ९.५ ओभरमै ८८ रन बनाएर सजिलै लक्ष्य प्राप्त गर्यो । गत संस्करणको फाइनलमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई पाँच बलअघि नै ८५ रनमै सीमित पारेको थियो ।
तेज बलर किशोर महतो र लेग स्पीनर शेर मल्लले मिलेर सात विकेट लिएपछि लुम्बिनीको पालि धराशायी भएको हो । चौथो ओभरको पहिलो बलमा विनोद भण्डारीलाई नौ रनमा एलबीडब्ल्यूको धरापमा पारेर मल्ल एनपिएल ३ मा विकेट लिने पहिलो बलर बन्नुभयो ।
त्यसपछि किशोरले दसशीर्ष क्रमलाई ध्वस्त पारेपछि सुदूरपश्चिमले कुनै पनि समय राम्रो साझेदारी बनाउन सकेन । किशोरले पाँचौँ ओभरमा आरिफ शेख र नेदरल्यान्ड्सका ब्रेन्डन म्याकमुलेनलाई आउट गरेपछि सुदूरपश्चिम दबाबमा परेको हो । आरिफ छ बलको सामना गरेर शुन्यमा आउट हुनुभयो । दुई बलपछि किशोरले म्याकमुलनलाई दुई रनमा बोल्ड गर्नुभयो ।
दोस्रो स्पेलमा बलिङ गर्न फर्किएपछि पनि किशोरले एकै ओभरमा दुई ब्याट्सम्यनलाई पभेलियन फर्काउनुभयो । किशोरले १३ औँ ओभरमा कप्तान दिपेन्द्रसिंह ऐरी र हमेन्त धामी (०) लाई लगातार बलमा बोल्ड आउट गर्नुभएको हो । अविनाश बोहराले किशोरलाई ह्याट्रिकबाट रोक्नुभयो । दिपेन्द्रले आउट हुनुअघि सुदुरपश्चिमका लागि सर्वाधिक २७ रन बनाउनुभयो । उहाँको २३ बलको पालिमा दुई चौका सामेल थियो । अनिल खरेल २६ बलमा १५ रन बनाएर अविजित रहनुभयो । सुुदूरपश्चिमको पालिमा एक छक्का पनि प्रहार भएन ।
लुम्बिनीका जवाफमा अस्ट्रेलियाली ब्याट्सम्यान डार्सी सर्टले पहिलो बलमै छक्का प्रहार गर्नुभएको थियो थियो । सर्टले १८ बलमै चार चौका र तीन छक्कासहित ४० रन बनाएपछि लुम्बिनीको जित थप सहज बन्यो । त्यसपछि जनकपुर बोल्ट्सबाट लुम्बिनी पुगेका आसिफ शेख २५ बलमा ३२ रन बनाएर आउट हुनुभयो ।
उहाँले दुई चौका र दुई छक्का प्रहार गर्नुभयो । श्रीलङ्काली विकेटकिपर ब्याट्सम्यान निरोसन डिकवेला सात रनमा दिपेन्द्रको बलिङमा बोल्ड भएपछि लुम्बिनीले तेस्रो विकेट गुमायो । त्यसपछ समि हुसेनले अविजित एक र रोहितले पाँच रन बनाएर लुम्बिनीलाई जित दिलाउनुभयो । मङगलबार दुई खेल हुनेछन् । पहिलो खेलमा विराटनगर किङसले चितवन राइनोज तथा दोस्रो खेलमा जनकपुर बोल्ट्ले कर्णाली याक्सको साना गर्नेछ ।