विवादित अडियोमा रास्वपा सांसद सुनारको इन्कार
काठमाडौँ । सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले पार्टीको छानबिन समितिलाई महिलासँगको विवादसम्बन्धी अडियो आफ्नो नभएको बयान दिएका छन् । सांसद सुनारले अनुशासन समितिलाई लिखित रूपमा इन्कारी पत्र बुझाएका हुन् ।
केही दिनअघि सुनार र एक महिलाबीच विवाद भइरहेको अडियो सार्वजनिक भएको थियो । अडियो सार्वजनिक भएसँगै रास्वपाले अनुशासन आयोगका उपप्रमुख हरिचन्द्र भट्टराईको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । उक्त समितिलाई सांसद सुनारले अडियोमा सुनिएको आवाज आफ्नो नभएको दाबी गरेका छन् ।
संयोजक भट्टराईले सांसद सुनारले विवादित अडियोको विषयमा इन्कारी पत्र पठाएको जानकारी दिएका हुन् । सुनारले पठाएको लिखित इन्कारी पत्रमा आफूले सामाजिक सञ्जालमार्फत नै आफ्नो मोटामोटी कुरा सार्वजनिक गरेको पनि उल्लेख गरेको भट्टराईले बताएका छन ।
भट्टराईले भने, ‘उहाँले अडियोको विषयमा इन्कारी पत्र पठाउनुभएको छ । समग्रमा उहाँले आफ्नो बोली नभएको भन्दै इन्कार गर्नुभएको छ । पत्रमा कतिपय कुरा चाहिँ बाहिर भन्न नमिल्ने पनि छन् ।’ भट्टराईका अनुसार अनुसन्धान अडियो र भिडियोको अध्ययन गर्ने चरणमा प्रवेश गरेको छ । सांसद सुनारको अडियो समितिले प्राप्त गरेसँगै महिलाको पनि अडियो आएको थियो । उक्त अडियो संकलनको चरणमा रहेको भट्टराईले बताए ।
‘इन्कारी बयान आए पनि दुवै अडियोमाथि थप छलफल हुने भट्टराईले बताए । उनले भने, ‘अडियोमाथि आईटी टोलीका साथीहरूले पनि अध्ययन गर्नुहुनेछ । यो महिला अधिकार, बालअधिकार र सांसदको गरिमासँग जोडिएको विषय भएकाले गम्भीरतापूर्वक अध्ययन हुनेछ ।’
सुनारले भने अडियो आफ्नो नभएको र एआईनिर्मित भएको भन्दै आफूलाई बदनाम गर्ने प्रयास भएको दाबी गर्दै आएका छन् । सुरुमै भिडियो सन्देश जारी गर्दै सुनारले इन्कार गरेको भए पनि उनीमाथि पार्टीले अनुसन्धान अघि बढाउनुका साथै सार्वजनिक कार्यक्रममा जान रोक लगाएको छ ।