एक्सक्लुसीभ

भ्रष्टाचारमुक्त शासन र शान्तिपूर्ण निर्वाचन सुनिश्चित गर्न सरकारलाई आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले देश गम्भिर राजनीतिक र सामाजिक सङ्कटको अवस्थाबाट गुज्रिरहेको बताउँदै पार्टीभित्र एकता, संयमता र जिम्मेवार राजनीतिक दृष्टिकोण अत्यावश्यक रहेको भन्नुभयो।

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकलाई मङ्गलबार सानेपास्थित बिपी स्मृति भवनमा सम्बोधन गर्दै सभापति देउवाले भदौ २३ र २४ गतेका घटनाले मुलुकलाई ठुलो क्षति पुर्‍याएको बताउनुभयो।

उहाँले भन्नुभयो, “हामी आज तोडफोड, लुटपाट र आगजनीपछि खरानी बनेको कार्यालयमा बैठक गरिरहेका छौं। यो दृश्यले हामी सबैलाई स्तब्ध बनाएको छ।”

सभापति देउवाले ती घटनामा परी ज्यान गुमाउनुभएका सबैप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो।

उहाँले भन्नुभयो, “भदौ २३ गते जेनजी आन्दोलनका क्रममा घुसपैठ भई प्रदर्शन हिंसात्मक बनेको र निर्दोष युवाहरूको ज्यान गएको घटनाले मलाई अत्यन्त मर्माहत बनाएको छ।”

उहाँले भदौ २४ गतेका घटनामा राष्ट्रपति भवनदेखि सिंहदरबार, सर्वोच्च अदालत, प्रहरी कार्यालय, अख्तियार, स्थानीय तह र राजनीतिक दलका कार्यालयमाथि भएको आक्रमणलाई नेपालको इतिहासकै भयावह घटना भएको बताउनुभयो।

उहाँका अनुसार, कांग्रेसको केन्द्रीय कार्यालयसहित ४८ जिल्ला कार्यालय र करिब १२५ जना नेताहरूका निजी घर र कार्यालयमा तोडफोड र आगजनी गरिएको थियो।

उहाँले भन्नुभयो, “प्रजातान्त्रिक आन्दोलनका प्रतीक गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र कोइराला परिवारको ऐतिहासिक निवाससमेत जलाइएका छन्। यस्तो घटनाले लोकतन्त्रको मर्ममाथि प्रहार गरेको छ।”

सभापति देउवाले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारसँग माग गर्नुभयो। उहाँले भन्नुभयो, “यो आकस्मिक होइन, सुनियोजित हमला हो। यसको निष्पक्ष अनुसन्धान गर्नु पर्छ।”

सुशासन र अभिव्यक्ति स्वतन्त्रताप्रति समर्थन

सभापति देउवाले जेनजी आन्दोलनका जायज मागहरूप्रति समर्थन जनाउँदै भन्नुभयो, “देशमा सुशासन, भ्रष्टाचारमुक्त वातावरण र अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित हुनु पर्छ। युवाहरूको आवाज सुन्नु हाम्रो कर्तव्य हो।”

तर उहाँले हिंसात्मक विधिबाट देशलाई अस्थिर बनाउन खोज्ने तत्वमाथि कडा कारबाही हुनुपर्ने बताउनुभयो।

नेपाली कांग्रेसमा एकताको आवश्यकता

सभापति देउवाले पार्टीभित्र विद्यमान मतभेद र असहमतिलाई थाती राखेर एकताबद्ध हुन सबै सदस्यहरूलाई आग्रह गर्नुभयो।

उहाँले भन्नुभयो, “व्यक्तिगत वा समूहगत लाभ–हानिभन्दा माथि उठौं, देश र लोकतन्त्रको हितमा एकमत बनौं।”

उहाँले पार्टी नेतृत्व हस्तान्तरणको विषयमा स्पष्ट पार्दै भन्नुभयो, “मैले पहिले नै भनेको छु—पार्टीमा सधैं एउटै सभापति रहिरहँदैन। १५औं महाधिवेशनबाट म सभापति पद हस्तान्तरण गर्छु।”

निष्पक्ष निर्वाचनका लागि सरकारलाई ध्यानाकर्षण

पूर्व प्रधानमन्त्री देउवाले आगामी फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित हुनुपर्नेमा जोड दिनुभयो।

उहाँले भन्नुभयो, “सुरक्षा निकायहरूको मनोबल कमजोर भएको छ। सरकारको पहिलो जिम्मेवारी शान्ति र सुरक्षाको सुनिश्चितता गर्नु हो।”

उहाँले लोकतान्त्रिक दलहरूसँग संवाद बढाउन र सबै पक्षबिच सहकार्यका माध्यमबाट देशलाई संवैधानिक बाटोमा फर्काउने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो।

ऐतिहासिक योगदानको स्मरण

सभापति देउवाले आफ्नो लामो राजनीतिक यात्राको स्मरण गर्दै लोकतन्त्र, समानता र सामाजिक न्यायका लागि जीवन अर्पण गरेको बताउनुभयो।

उहाँले भन्नुभयो, “कमैया मुक्त घोषणा, छुवाछूत उन्मूलन, महिलाको पैतृक सम्पत्तिमा अधिकार, वैज्ञानिक भूमिसुधार, दलित–जनजाति उत्थान र भ्रष्टाचार निवारण ऐन २०५९ जारी गर्नु मेरा कार्यकालका ऐतिहासिक उपलब्धिहरू हुन्।”

उहाँले भन्नुभयो, “मलाई पाँच पटक प्रधानमन्त्री बन्ने अवसर प्राप्त भयो, तर मेरो उद्देश्य पद होइन, राष्ट्र र लोकतन्त्र नै हो।”

व्यक्तिगत आक्रमण र पार्टीमाथिको प्रहार

सभापति देउवाले भदौ २४ गते आफ्नै घरमा भएको आक्रमणलाई स्मरण गर्दै भन्नुभयो, “ममाथि भएको आक्रमण व्यक्तिगत जस्तो देखिए पनि यो देश, लोकतन्त्र र पद्धतिमाथिको आक्रमण हो।”

उहाँले आफू र परिवारको ज्यान बचाउन सहयोग गर्ने सुरक्षाकर्मी र शुभचिन्तकप्रति हार्दिक आभार व्यक्त गर्नुभयो।

कार्यवाहक सभापति खड्का

अन्त्यमा सभापति देउवाले आफ्नो स्वास्थ्यका कारण उप–सभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति तोक्नुभएको जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, “उहाँले पार्टीको बृहत्तर हितमा काम गर्नुहुने छ भन्नेमा मलाई पूर्ण विश्वास छ।”

उहाँले बैठकबाट देशलाई निकास दिने ठोस निर्णय हुने विश्वास व्यक्त गर्दै भन्नुभयो, “हामी सबै एकताबद्ध भएर लोकतन्त्र र संविधानको रक्षा गर्नुपर्छ।”

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.