जनताको समर्थनबाट गठन भएको सरकारलाई कांग्रेसले डिस्टर्ब गर्दैन : आङ्देम्बे
फिदिम । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जनताको अदभूत साथ र समर्थनबाट गठन भएको सरकारलाई कांग्रेसले डिस्टर्ब नगर्ने स्पष्ट पार्नुभएको छ ।
विगतमा दुई तिहाई नजिकका सरकार ढाल्ने र आफू अनुकुल बनाउने चलखेलले नागरिकमा संसदीय प्रणाली र दलहरूप्रति नै वितृष्णा पैदा गरेको भन्दै आङ्देम्बेले प्रतिपक्षीको बेञ्चबाट कांग्रेसले सरकारका सकरात्मक कदममा सदैव साथ दिने बताउनुभयो ।
नेपाली कांग्रेस पाँचथरको प्रदेश सभा क र ख को संयुक्त अधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै उहाँले कांग्रेस लोकतन्त्रको सुदृढिकरणमा सदैव प्रतिबद्व रहेकाले जेनजी आन्दोलनको मर्मअनुसार जनताको अद्भूत साथ र समर्थनबाट गठन भएको सरकारलाई पाँच वर्षसम्म कहिँ कतैबाट डिस्टर्ब गर्न नहुने उहाँको टिप्पणी थियो ।
‘कांग्रेस सत्ता प्राप्ति गर्ने पार्टी मात्रै होइन, देश बनाउने पनि हो । तसर्थ अब रचनात्मक रूपमा देश बनाउन लाग्छ,’ उहाँले भन्नुभयो ।
उहाँले नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशनले विधानतः युवालाई आकर्षक रुपमा प्रतिनिधित्व गराउन सफल भएको भन्दै अबको नेतृत्व युवा पुस्ताले गर्ने र तिनै पुस्ताले देश बनाउने उहाँले बताउनुभयो ।
‘यसपटक कांग्रेसको नेतृत्वमा अब गगन र विश्वप्रकाशको विकल्प छैन, अर्कोपटक तन्नेरी पुस्ता उत्तराधिकारीका रूपमा उदाँउछन् । अवको १५ वर्षपछि पुरानो पुस्ताका सबैले विश्राम लिनपर्ने अवस्था आँउछ,’ उहाँले भन्नुभयो ।
नेपाली कांग्रेस पाँचथरका प्रदेश सभा क र ख को संयुक्त अधिवेशन सोमबार सुरु भएको छ । सोमबार उद्घाटन सत्र र मनोनयन पत्र दर्ता गरेसँगै मंगलबार क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधि चयनका लागि मतदातको कार्यतालिका रहेको छ।