एक्सक्लुसीभ

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

काठमाडौँ । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन् । पदबहालीका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री गुरुङले आफ्नो कार्यकालमा पुराना र चर्चित काण्डको फाइल खोलेर अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

गृहमन्त्री गुरुङले वि.सं. २०५८ सालमा भएको चर्चित दरबार हत्याकाण्डको फाइल पुनः खोलेर छानबिन प्रक्रिया अगाडि बढाउने पहिलो महत्त्वपूर्ण निर्णय गरेका छन् । यसका साथै उनले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई अझ बढी बलियो र साधनस्रोत सम्पन्न बनाउने तथा हाल छानबिनका क्रममा रहेका सबै अनुसन्धान प्रक्रियालाई छिटो टुङ्गोमा पुर्‍याउने निर्णयमा हस्ताक्षर गरेका छन् ।

मन्त्रालयको पदभार सम्हाल्दै मन्त्री गुरुङले पछिल्लो समय ‘जेनजी’ आन्दोलनका क्रममा लागेका फौजदारी मुद्दाहरू फिर्ता लिने विषयमा आवश्यक अध्ययन अगाडि बढाउने समेत बताए ।

आफूविरुद्ध लागेको आरोपबारेको प्रश्नमाथि टिप्पणी गर्दै गृहमन्त्री गुरुङले भने, “ममाथि तथ्यहीन रूपमा आरोप लगाइएको छ। आफूमाथि जस्तोसुकै आरोप लगाए पनि म त्यो थेग्न सक्छु, तर नेपाली चेलीबेटीलाई दुःख दिएको र उनीहरूमाथि अन्याय भएको म कदापि सहन सक्दिनँ।”

गुरुङ्गले सञ्चारमाध्यम तर्फ सङ्केत गर्दै भने, “मिडिया ट्रायलकै कारण मात्र कुनै पनि व्यक्तिले दबाबमा परेर आत्महत्या गर्ने स्थिति नबनोस् भन्नेमा सबै सचेत हुनुपर्छ।” गृह प्रशासनलाई पारदर्शी, जबाफदेही र नागरिकमैत्री बनाउन आफू लागिपर्ने धारणा राखे ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्