जनकपुर । मधेश प्रदेश सरकारले अगामी आर्थिक वर्षका लागि ल्याएको बजेट सङ्घीयताको मर्म विपरीत रहेकाले प्रदेश सभामा टेबुल हुन नदिने प्रमुख प्रतिपक्षी दलहरूले जनाएको छ ।
जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टी आज जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा वर्तमान सरकारले ल्याएको बजेट पूर्ण रुपमा रौतहट जिल्ला केन्द्रित रहेकाले पूर्णरुपमा अव्यवहारिक रहेकाले प्रदेश सभाको बैठकमा टेबुल नै हुन नदिने नेताहरूले जनाएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै मधेश प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउतले वर्तमान सरकारले ल्याएको बजेट १ करोडको नभई ५ लाखसम्मको टुक्रे योजनाहरू भएको र एउटै शीर्षको बजेट विभिन्न जिल्लाका लागि योजनाहरू राख्ने काम भएकाले कार्यान्वयन गर्न कठिन हुने भएकाले बजेट पुनर्लेखनका लागि माग गर्नु भयो ।
उहाँले अहिलेको अवस्थामा बजेट कार्यान्वयन हुन नसक्ने बताउँदै सरकारले ल्याएको बजेट पूर्ण रुपमा असन्तुलित र टुक्रे योजनाहरूको बाहुल्यता भएको बताउनु भयो ।
मधेश प्रदेशका पूर्व मुख्यमन्त्री जितेन्द्र सोनलले अगामी आर्थिक वर्षका लागि आएको बजेट सङ्घीयताको मर्म विपरीत आएकाले यसको कार्यान्वयन निक्कै चुनौतीपूर्ण भएकाले बजेट पुनर्लेखन गर्नका लागि सुझाव दिनु भयो ।
उहाँले अहिलेको बजेट पूर्ण रुपमा कमजोर तथा असन्तुलित भएकाले यसले सङ्घीयतालाई थप बदनाम गर्ने काम मात्र गरेको दाबी गर्नु भयो ।
पूर्वमुख्यमन्त्री एवं जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता सरोज कुमार यादवले मधेश प्रदेश सरकारले ल्याएको बजेट पूर्ण रुपमा असन्तुलित तथा एक जिल्ला केन्द्रित भएकाले कार्यान्वयन हुन नसक्ने बताउनु भयो ।
जनमत पार्टीका संसदीय दलका नेता चन्दन सिंहले अहिलेको बजेट सङ्घीयता विरुद्धको बजेट भएको बताउँदै तीन दलका सरकारले ल्याएको बजेट सङ्घीयता विरुद्धको भएकाले यसको कार्यान्वयन हुन नदिने बताउनु भयो ।
पूर्व अर्थमन्त्री संजय कुमार साहले ४९ अर्बको बजेट ल्याउँदा पनि यसको श्रोत निश्चित नभएको र प्रदेश सरकारले आन्तरिक राजस्वबाट ११ अर्ब उठाउने विषय उल्लेख भएपनि सम्भव नभएकाले बजेट कार्यान्वयन हुन नसक्ने बताउनु भयो । उहाँले प्रदेश सरकार केवल कर्मचारीको सरुवा तथा बढुवामा केन्द्रित भएको आरोप पनि लगाउनु भयो ।
मधेश प्रदेश सभाका सदस्य उपेन्द्र महतोले मधेश प्रदेश सरकारले ल्याएको बजेट पूर्ण रुपमा एक जिल्ला केन्द्रित भएकाले यही अवस्थामा आफूहरूले स्वीकार नगर्ने बताउँदै बजेटको पुनर्लेखनको माग गर्नु भयो । आफूहरूको साथमा राष्ट्रिय प्रजातन्त्र पार्टी रहेको जसपा नेपालका नेता सोनलले जानकारी दिनु भयो ।