इमिग्रेशन अपडेट

हङकङका लोकतन्त्र पक्षधर कार्यकर्ताका लागि बेलायतको भिसा मापदण्ड सहज

सन् १९९७ जुलाई १ मा हङकङ चीनलाई हस्तान्तरण हुनुअघि जन्मिएका व्यक्तिहरूले ‘ब्रिटिस नेसनल ओभरसिज’ (बीएनओ) राहदानी प्राप्त गर्न सक्छन् । उक्त राहदानीवाहकले बेलायतको भिसाका लागि आवेदन दिन पाउँछन् । यसअन्तर्गत उनीहरूलाई बेलायतमा पाँच वर्षसम्म बस्न र काम गर्न तथा त्यसपछि बेलायती नागरिकताका लागि आवेदन दिन सक्ने सुविधा छ । 

लन्डन । चीनको दमनका कारण हङकङमा लोकतन्त्र पक्षधर प्रदर्शनमा सहभागी भई दोषी ठहरिएका व्यक्तिहरूलाई समेत बेलायतमा बस्न र काम गर्न भिसा उपलब्ध गराउन सकिने बेलायतका गृहमन्त्रीले बताउनुभएको छ ।

गृहमन्त्री सबाना महमुदले सन् २०१९ को प्रदर्शनमा सहभागी भएको अभियोगमा दोषी ठहरिएका तर अन्य सबै भिसा मापदण्ड पूरा गरेका व्यक्तिहरूलाई भिसा दिनबाट वञ्चित गर्न नहुने बताउनुभएको हो ।

सन् २०१९ मा हङकङमा भएको लोकतन्त्र पक्षधर प्रदर्शन र त्यसको एक वर्षपछि चीनले कडा राष्ट्रिय सुरक्षा कानुन लागू गरेयता बेलायतले हङकङका दुई लाख ३० हजारभन्दा बढी नागरिकलाई भिसा दिएको छ ।

बेलायती सरकारी तथ्याङ्कअनुसार, तीमध्ये करिब एक लाख ७० हजार बेलायत पुगिसकेका छन् ।

बुधबार बेलायती संसद्को मानव अधिकार समितिले सार्वजनिक गरेको पत्राचारमा गृहमन्त्री महमुदको यस्तो धारणा उल्लेख गरिएको छ ।

हङकङका एक प्रमुख लोकतन्त्र पक्षधर कार्यकर्ता बेलायत पुग्दा उहाँलाई केही घण्टा नियन्त्रणमा राखिएको घटनापछि समितिले यस विषयमा चासो व्यक्त गरेको थियो । ती कार्यकर्ताका परिवार अहिले बेलायतमा बस्दै आएका छन् ।

राष्ट्रिय सुरक्षा कानुनअन्तर्गत राज्यविरुद्ध षड्यन्त्र गरेको अभियोगमा दोषी ठहरिएका वु ची–वाईले हङकङको जेलमा पाँच वर्ष बिताएपछि गत जुनमा रिहा हुनुभएको थियो ।

समितिका अध्यक्ष तथा सांसद एलेक्स कोबेलले उक्त घटनाबारे गृहमन्त्री महमुदलाई पत्र लेखेपछि उहाँले आफ्नो धारणा सार्वजनिक गर्नुभएको हो ।

कोबेलका अनुसार, सुरुमा वु ची–वाईलाई बेलायत प्रवेश गर्न अनुमति दिइएको थिएन । पछि भने उहाँलाई बेलायतमा छ महिनासम्म बस्न पाउने अनुमति प्रदान गरिएको थियो ।

कोबेलले पत्रमा वु ची–वाईको घटनाले राष्ट्रिय सुरक्षा कानुनअन्तर्गत दोषी ठहरिनु अझै पनि बेलायत प्रवेश गर्न वा त्यहाँ बस्न अनुमति पाउन बाधक बन्न सक्ने देखाएको उल्लेख गर्नुभएको छ ।

बेलायतस्थित पैरवी समूह ‘हङकङ वाच’ले गृहमन्त्री महमुदको भनाइको स्वागत गरेको छ ।

समूहले सामाजिक सञ्जाल ‘एक्स’ मा उक्त निर्णयको स्वागत गर्दै यससम्बन्धी औपचारिक प्रक्रिया स्थापना गर्न बेलायती गृह मन्त्रालयसँग सहकार्य जारी राख्ने जनाएको छ ।

सन् १९९७ जुलाई १ मा हङकङ चीनलाई हस्तान्तरण हुनुअघि जन्मिएका व्यक्तिहरूले ‘ब्रिटिस नेसनल ओभरसिज’ (बीएनओ) राहदानी प्राप्त गर्न सक्छन् । उक्त राहदानीवाहकले बेलायतको भिसाका लागि आवेदन दिन पाउँछन् । यसअन्तर्गत उनीहरूलाई बेलायतमा पाँच वर्षसम्म बस्न र काम गर्न तथा त्यसपछि बेलायती नागरिकताका लागि आवेदन दिन सक्ने सुविधा छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्