राजनीति

टोपबहादुर रायमाझी जेलमुक्त, घरमा बिहानै टीकामाला लगाएर स्वागत

रुपन्देही ।पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी जेलमुक्त हुनुभएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई कैद सजाय भोगिरहनुभएका रायमाझी उमेरका आधारमा प्राप्त कैद छुट सुविधापछि जेलमुक्त हुनुभएको हो।

६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकले पाउने कानुनी सुविधाअनुसार उहाँ बिहीबार बिहान डिल्लीबजार कारागारबाट रिहा हुनुभएको हो। कैद अवधि पूरा हुने समय अघिल्लो दिन नै भए पनि उहाँ बिहीबार बिहान ७ बजे कारागारबाट बाहिरिनुभएको उहाँलाई लिन पुग्नुभएका लिला केसीले बताउनुभयो।

केसीका अनुसार बिहान ६ः४५ बजे कारागार पुगेको टोलीले ७ बजे रायमाझीलाई लिएर बाहिरिएको थियो। उहाँले भन्नुभयो, “अहिले सातदोबाटोस्थित घरमा आइपुगेका छौँ। केही दिन आराम गरेपछि अर्घाखाँची जाने कुरा हुन्छ होला।”

अर्घाखाँची स्थायी घर भएका रायमाझी सांसद रहेकै बेला पक्राउ पर्नुभएको थियो।

काठमाडौं जिल्ला अदालतको आदेश र संशोधित कैदीपुर्जीका आधारमा रायमाझीलाई कैदमुक्त गरिएको हो। तिहारअघि नै अदालतबाट रिहाइसम्बन्धी पत्र प्राप्त भएकाले बिहीबार उहाँलाई कारागारमुक्त गरिएको डिल्लीबजार कारागारका जेलर बाबुराम अर्यालले जानकारी दिनुभयो।

रायमाझीले ज्येष्ठ नागरिकको उमेरका आधारमा कैद छुट पाउन अदालतमा निवेदन दिनुभएको थियो। सोही निवेदनमाथि सुनुवाइ गर्दै अदालतले कानुनी व्यवस्थाअनुसार कैद छुट सुविधा प्रदान गरी संशोधित कैदीपुर्जी जारी गरेको थियो।

तत्कालीन नेकपा एमालेका सचिवसमेत रहनुभएका रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा ठगी, संगठित अपराध, राज्यविरुद्धको कसुर र एकीकृत कसुरमा दोषी ठहर हुनुभएको थियो।

काठमाडौं जिल्ला अदालतले उहाँलाई ठगीमा दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिबाना, संगठित अपराधमा तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिबाना, राज्यविरुद्धको कसुरमा एक वर्ष छ महिना कैद र १५ हजार रुपैयाँ जरिबाना तथा एकीकृत कसुरतर्फ चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिबाना सुनाएको थियो।

गम्भीर प्रकृतिको राजनीतिक तथा आर्थिक अपराधका रूपमा चर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च राजनीतिक तहका व्यक्तिहरू मुछिएका थिए। उक्त प्रकरणमा दोषी ठहर हुनुभएका रायमाझीको रिहाइ भने ज्येष्ठ नागरिकका लागि कानुनले प्रदान गरेको कैद छुट सुविधासँग सम्बन्धित छ।

कारागारबाट रिहा भएपछि रायमाझीलाई परिवार तथा आफन्तले घरमै टीकामाला लगाएर स्वागत गरेका छन्। लामो समय कारागारमा बिताउनुभएका पूर्वउपप्रधानमन्त्री रायमाझी जेलमुक्त भएसँगै उहाँको आगामी राजनीतिक तथा सार्वजनिक भूमिकालाई लिएर समेत चासो बढेको छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्