ममता काफ्ले हत्या प्रकरणमा नरेश भट्टलाई प्रथम श्रेणीको हत्या, शव लुकाएको र क्षतविक्षत पारेको अभियोगमा दोषी ठहर
भर्जिनिया । अमेरिकाको भर्जिनियामा श्रीमती ममता काफ्लेको हत्या गरेको अभियोगमा दोषी ठहर भएका नेपाली मूलका नरेश भट्टको सजाय आगामी मार्च १२ मा निर्धारण हुने भएको छ ।
मंगलबार अदालतमा भएको सुनुवाइमा जुरीले ३९ वर्षीय भट्टलाई प्रथम श्रेणीको हत्यामा दोषी ठहर गरेको थियो । उनलाई श्रीमतीको शव लुकाएको र क्षतविक्षत पारेको अभियोगमा पनि दोषी ठहर गरिएको छ ।
भट्टलाई प्रथम श्रेणीको हत्यामा आजीवन कारावाससम्म सजाय हुन सक्नेछ । यस्तै, शव लुकाएको र क्षतविक्षत पारेको दुई अभियोगमा प्रत्येकमा थप पाँच वर्षसम्म कैद सजाय हुन सक्नेछ ।
फैसला सुनाइएपछि अदालतले भट्टको धरौटीसमेत रद्द गरेको छ । उनी अब सजाय निर्धारण नभएसम्म हिरासतमै रहनेछन् ।
भट्टले अदालतमा बयान दिने क्रममा ममताको शव टुक्राटुक्रा पारेको र फोहोर फाल्ने मेसिनमा राखेर नष्ट गरेको स्वीकार गरेका थिए । तर उनले ममताको हत्या आफूले नगरेको र उनी आत्महत्या गरेर मृत्यु भएको दाबी गरेका थिए ।
सन् २०२४ जुलाई २७ मा अन्तिमपटक देखिएकी ममताको शव अहिलेसम्म फेला परेको छैन । प्रहरीले उनको खोजीका क्रममा अनुसन्धान अघि बढाएको थियो । करिब दुई वर्षपछि चलेको मुद्दामा जुरीले भट्टलाई हत्यामा दोषी ठहर गरेको सीएनएनको समाचारमा उल्लेख छ ।