डायस्पोरा

अस्ट्रेलियामा नेपाली युवा उद्यमीको अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुदै

सिड्नी । कृत्रिम बुद्धिमत्ता (एआई) को तीव्र विकाससँगै विश्वभरका युवा उद्यमीहरू नयाँ अवसरको खोजीमा लागिरहेका बेला अस्ट्रेलियामा नेपाली युवा उद्यमीहरूको अन्तर्राष्ट्रिय भेला आयोजना हुने भएको छ ।

एआई, नवप्रवर्तन, उद्यमशीलता तथा विश्वव्यापी नेटवर्क विस्तारलाई केन्द्रमा राखेर आयोजना हुन लागेको कार्यक्रममा २० देशका ७०० भन्दा बढी नेपाली युवा उद्यमीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ ।

आगामी जुलाई २४ र २५ मा सिड्नीस्थित सोफिटेल होटलमा हुने उक्त कार्यक्रम अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ फिने आईईसी (अन्तर्राष्ट्रिय कार्य समिति)को आयोजनामा आयोजना गर्न लागेको हो, जसको सञ्चालन फिने अस्ट्रेलियाले गर्नेछ ।

कार्यक्रममा नेपाल र अस्ट्रेलियाका सरकारी, वित्तीय तथा निजी क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता रहने आयोजकले जनाएको छ । कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, प्रतिनिधिसभा सदस्य  सुशील खड्का, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्ट, महालेखा नियन्त्रक शोभाकान्त पौडेल, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली, बैंकर तथा लिड नेपाल एनआईसीका अध्यक्ष अनिल केशरी शाह, आइडिया स्टुडियोका संस्थापक छिरिङ लामा, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रवलजंग पाण्डे, डाटा बैज्ञानिक भोजराज घिमिरे, युवा बैज्ञानिक राम लक्ष्मण रिमाल लगायतको उपस्थिति रहनेछ । कार्यक्रमलाई अर्थमन्त्री वाग्लेले सम्बोधन गर्नेछन् ।

त्यसैगरी, अस्ट्रेलियाका वित्तमन्त्री तथा साना तथा मझौला उद्यम मन्त्रीसहित ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वक्ताहरूले विभिन्न विषयमा आफ्ना अनुभव र विचार प्रस्तुत गर्नेछन् ।

कार्यक्रममा एआई, प्रविधि, स्टार्टअप, लगानी, नवप्रवर्तन तथा विश्वव्यापी व्यवसायिक सम्भावनाका विषयमा छलफल हुने अपेक्षा गरिएको छ । विशेषगरी एआईको बढ्दो प्रभावबिच नेपाली युवाहरूले नयाँ प्रविधिमैत्री व्यवसाय तथा स्टार्टअप निर्माण गर्ने सम्भावनाबारे अनुभव आदान–प्रदान गर्ने अवसर प्राप्त गर्नेछन् ।

यसै क्रममा नवप्रवर्द्धनका लागि ३५ लाख रुपैयाँ बराबरको एआई स्टार्टअप प्रतियोगिता हुने आयोजकले जानकारी दिएको छ ।  प्रतियोगिताको लागि पहिलो मापदण्ड नेपाली स्वामित्वमा रहेको एआई आधारित कम्पनी हुनुपर्नेछ । प्रतियोगिताको विस्तृत जानकारी फिनेको वेभसाइटबाट प्राप्त गर्न सकिने छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.