राजनीति

बानियाँ नेतृत्वको सरकार अल्पमतमा, राप्रपाको सहयोगमा सरकार बनाउदै एमाले

मुख्यमन्त्री बानियाँले बहुमत पुर्‍याएर सरकार गठनका लागि दाबी गरेमा तत्काल पद छाड्ने बताउनुभएको छ। पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न मुख्यमन्त्री बानियाँ काठमाडौँ पुग्नुभएको छ।

मकवानपुर । नेपाली काङ्ग्रेस नेतृत्वको सरकार अल्पमतमा परेसँगै बागमती प्रदेशमा नयाँ सरकार निर्माणका लागि राजनीतिक जोडघटाउ र अड्कलबाजी सुरु भएको छ।

नेकपा (एमाले) ले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रदेश सरकार अल्पमतमा परेको हो। एमाले र नेपाल कम्युनिस्ट पार्टीबिच विभिन्न प्रदेशमा सरकारको नेतृत्व गर्ने गरी केन्द्रमा भएको सहमति अनुसार बागमती प्रदेश सरकारको नेतृत्व एमालेको भागमा परेको छ।

तर बागमती प्रदेशमा वाम गठबन्धनलाई मात्र बहुमत नपुग्ने देखिएको छ। बहुमत पुर्‍याउन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समर्थन आवश्यक पर्नेछ।

नेकपाका प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी दुई दल मात्र सरकार बनाउन पर्याप्त नहुने भएकाले तीन दल मिल्नुपर्ने अवस्था रहेको बताउनुहुन्छ। ११० सदस्य रहेको बागमती प्रदेश सभामा छ जनाको राजीनामापछि हाल १०४ जना कायम छन्। बहुमतका लागि ५३ जना सदस्य आवश्यक पर्छ।

प्रदेश सभामा काङ्ग्रेसका ३६, नेकपाका २६, एमालेका (उपसभामुखसहित) २५, राप्रपाका १२, नेपाल मजदुर किसान पार्टीका तीन र हाम्रो नेपाली पार्टीका दुई जना प्रदेश सभा सदस्य हुनुहुन्छ।

एमालेका २५ र नेकपाका २६ गरी ५१ जना पुग्छन्। हाम्रो नेपाली पार्टीले साथ दिँदा ५३ पुगे पनि संवैधानिक जटिलता भने कायमै रहन्छ।

प्रदेश सभा सचिवालयका प्रवक्ता प्रकाश चापागाईंका अनुसार संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठन प्रक्रिया अघि बढ्नेछ। तर, संविधानको धारा १८६ अनुसार सभामुख पद रिक्त भई उपसभामुखले अध्यक्षता गरिरहेकाले मत बराबर (५३-५३) भएको अवस्थामा मात्र अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिन पाउने व्यवस्था छ। यसले गर्दा दाबी पेस गर्न सङ्ख्या पुगे पनि मत परीक्षण (मतदान) मा जाँदा संवैधानिक जटिलता उत्पन्न हुने देखिन्छ।

हाम्रो नेपाली पार्टीको मात्र साथले नपुग्ने भएपछि एमालेले राप्रपाको साथ खोजेको छ। राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले प्रदेशलाई अनिर्णयको बन्दी नबनाउने र समस्या समाधानका लागि सहयोग गर्ने बताउनुभएको छ।

एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले नयाँ सरकार गठनका लागि अन्य दलसँगको छलफल अगाडि बढाइएको जानकारी दिनुभयो। यता प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले पनि दलहरूबिच छलफल भइरहेको बताउनुभयो।

मुख्यमन्त्री बानियाँले बहुमत पुर्‍याएर सरकार गठनका लागि दाबी गरेमा तत्काल पद छाड्ने बताउनुभएको छ। पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न मुख्यमन्त्री बानियाँ काठमाडौँ पुग्नुभएको छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्