नेपाल

हिमपातले बेपत्ता चौरीसहित ३०७ पशुको उद्धार

हुम्ला । नाम्खा गाउँपालिका –६ को हिमालपारीको गाउँ लिमीको उच्च पाटनमा चरनका लागि छाडिएका बेला हिमपात हुँदा बेपत्ता भएका चौरी गाईसहित तीन सयभन्दा बढी पशुको उद्धार गरिएको छ ।

लिमीका वडा अध्यक्ष पाल्जोर तामाङसहितको टोली खोजीमा जाँदा लाप्चा क्षेत्रको साँक्या खोलामा सकुशल फेला परेका हुन् । बेपत्ता पशुको खोजीका लागि आफूसहित लिमीका स्थानीयको टोली लाप्चा क्षेत्र पुग्दा साँक्या खोलामा हिउँमा उभिएको अवस्थामा बेपत्ता भएकामध्ये ३०७ पशु भेटिएपछि तुम्लिङमा सुरक्षित ल्याएको उहाँले बताउनुभयो ।

पशुको खोजीका लागि उहाँहरु चारवटा समूहमा जानुभएको थियो । आशा मारिसकेको अवस्थामा पनि पशुहरु जीवितै भेटिएको उहाँको भनाइ छ । गत असोज १० र ११ गते परेको हिमपातपछि ती पशु बेपत्ता भएका थिए । २७ दिन घाँस नखाएर भएपनि पशु बाँच्न सफल भएको बताउदै उहाँले गाउँवासीले ती पशुको जीवित पाउने आशा मारेको अवस्थामा उद्धार कार्य भएको उहाँको भनाइ छ ।

हाल पत्ता लागेका पशुमध्ये पचास वटा घोडा, २० वटा झोपा र बाँकी २३७ वटा चौरीगाई रहेका छन् । तीन वटा समूह अझै खोजीमै रहेका कारण आज केही पशुको पत्ता लाग्ने उहाँले बताउनुभयो । घोडाहरुले आफ्नो पुच्छर आफै खाएको कारण पुच्छर भने कुनै पनि घोडाको छैन ।

ग्याउ खोला र लिङ खोलाका पाटनमा चरनकै अबस्थामा रहेको बेला भारी हिमपात भएपछि तीनसय भन्दा बढी पशु बस्तु बेपत्ता अवस्थामा रहेका थिए । पशुहरु सकुशल भेटिएपछि लिमीका स्थानीय खुसी हुनुभएको हो ।

यता ठुलो संख्यामा पशु बेपत्ता भएपछि नाम्खा गाउँपालिकाले ती पशुको खोजीका लागि ताक्चीबाट ग्याउ खोलासम्मको सडकमा जमेको हिउँ पन्छाउन टेण्डर आव्हान गरेको थियो । सो क्षेत्रको हिउँ पन्छाएपछि बेपत्ता पशुको खोजीमा सहयोग पुगेको हो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्