राजनीति

मध्यपूर्वमा नेपालीको सुरक्षामा गम्भीर बन्न कांग्रेसको सरकारलाई आग्रह

काठमाडौं । साउदी अरबको सेवा आयल फिल्डमा भएको ड्रोन आक्रमणका क्रममा भग्नावशेष खस्दा एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति नेपाली कांग्रेसले गहिरो दुःख व्यक्त गरेको छ।

कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा घटनामा ज्यान गुमाएका नेपाली नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ।

कांग्रेसले निर्दोष नागरिकको ज्यान जाने गरी हुने हिंसात्मक घटनाहरू मानवता र मानवीय मूल्य–मान्यताविपरीत रहेको भन्दै यस्ता घटनाको घोर निन्दा एवं भर्त्सना गरेको छ।

नेपाल प्रत्यक्ष रूपमा संलग्न नै नरहेको द्वन्द्वमा नेपाली नागरिकले अनाहकमा ज्यान गुमाउनुपर्ने अवस्था अत्यन्त दुःखद र चिन्ताजनक भएको कांग्रेसको भनाइ छ।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले एक जना मात्रै नेपाली नागरिकको पनि अनाहकमा ज्यान जानु अत्यन्त दुःखद भएको बताएका छन्। उनले दिवंगत नेपाली नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै साउदी अरबमा कार्यरत सम्पूर्ण नेपालीको सुरक्षाका लागि थप गम्भीर पहल गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएका छन्।

सभापति थापाले सम्भावित जोखिमप्रति उच्च सतर्कता अपनाउन, नेपाली नागरिकको सुरक्षा सुनिश्चित गर्न तथा आवश्यक परेमा तत्काल उद्धारको व्यवस्था मिलाउनसमेत सरकारसँग आग्रह गरेका छन्।

कांग्रेसले विदेशमा रोजगारीका सिलसिलामा रहेका नेपाली नागरिकको जीवनरक्षा र सुरक्षालाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएको छ।

विज्ञप्तिमा शोकको यस असह्य घडीमा मृतकका परिवारजनलाई पीडा सहन गर्ने शक्ति मिलोस् भन्ने कामनासमेत गरिएको छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्