राजनीति

बैतडी कांग्रेस छान्यो प्रतिनिधिसभा सदस्य उम्मेदवार, सभापति चन्दले पाउनुभयो शतप्रतिशत मत

बैतडी ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस बैतडीले उम्मेदवार सिफारिस गरेको छ । 

शनिबार बैतडी सदरमुकाममा सम्पन्न  जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि तथा प्रदेश प्रतिनिधिहरूको संयुक्त बैठकले मतदान प्रक्रियाबाट उम्मेदवार सिफारिस गरेको हो ।

पार्टीको केन्द्रीय निर्देशन अनुसार सहमतिबाट उम्मेदवार सिफारिस नटुङ्गिएपछि मत विभाजनबाट चयन गरिएको हो ।प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष तर्फको उम्मेदवारका लागि ६ जना आकाङ्क्षी बीच प्रतिष्पर्धा भएको थियो ।

जिल्ला कार्यसमिति, केन्द्रीय महाधिवेशन प्रतिनिधि, प्रदेश अधिवेशन प्रतिनिधिहरू गरी उपस्थित ७३ जनाले मतदान प्रक्रियामा भाग लिएका थिए । मत सर्वेक्षणमा आकाङ्क्षी ६ जना मध्ये कांग्रेस जिल्ला सभापति चतुरबहादुर चन्दले ७३ मत ल्याएर शतप्रतिशत प्राप्त गर्नुभएको छ ।

पुर्व जिल्ला उप सभापति तथा पुर्व जि.वि.स उप सभापति विष्णु दत्त जोशीले ४५ मत प्राप्त गर्नुभएको छ ।  यस्तै महाधिवेशन प्रतिनिधि उत्तरबहादुर ऐरले ६ मत प्राप्त गर्नुभयो भने जिल्ला उपसभापति वीरबहादुर बिष्टले ४ मत र प्रदेश सदस्य तेजबहादुर चन्दले ३ मत प्राप्त गर्नुभयो ।

महिलातर्फ जानकी भट्टमात्रै आकाङ्क्षी देखिएकाले उहाँको नाम सिफारिस गर्ने निर्णय भएको जिल्ला कार्य समितिका सचिव देवराज जोशीले बताउनुभयो ।

यस्तै समानुपातिकतर्फ एकजनाको नाम सिफारिस गर्नुपर्नेमा देवु ठगुन्ना र कान्ता चन्द आकाङ्क्षी भएपछि मत विभाजन गरिएको थियो ।

मत विभाजन अनुसार कान्ता चन्दले ४५ मत र देवु ठगुन्नाले २५ मत प्राप्त गर्नुभएको छ । अब कान्ता चन्दको नाम समानुपातिकतर्फ सिफारिस गरिने सचिव जोशीले बताउनुभयो ।

यस्तै राष्ट्रिय सभा सदस्यको उम्मेदवारका लागि तीन जनाको नाम सिफारिस गर्ने निर्णय भएको छ । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समितिका उपसभापति लोकराज अवस्थी, पूर्व महाधिवेशन प्रतिनिधि सुरेन्द्रबहादुर चन्द र नेता प्रताप ठगुन्नाको नाम सिफारिस गर्ने निर्णय भएको बताउनुभयो।

शनिबार जिल्ला समन्वय समितिको बैतडीको सभाहल गढीमा बैठक बसेको हो । दिउँसो १ बजे सुरु भएको बैठकमा जिल्लाभरका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

मत सर्वेक्षणको जिम्मेवारी पाउनुभएका नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष गणेशसिंह भण्डारीले तीन घण्टासम्म आकाङ्क्षी बीच सहमति जुटाउने प्रयास सफल नभएपछि केन्द्रको  निर्देशन अनुसार मत विभाजन गरिएको बताउनुभयो ।

प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष तथा समानुपातिक तर्फका उम्मेदवारका लागि नाम सिफारिस गर्ने पर्ने केन्द्रीय कार्यसमितिको गरेको परिपत्र अनुसार नेपाली कांग्रेस बैतडीले वृहत बैठक आयोजना गरेको पार्टीका जिल्ला कार्यसमिति सहसचिव दिपेन्द्रबहादुर चन्दले बताउनुभयो ।

कांग्रेसका केही महाधिवेशन प्रतिनिधि तथा सदस्यहरूले भने आफू र निकटका आकाङ्क्षीले उम्मेदवार सिफारिसमा मत कम पाए पछि  असन्तुष्टि जनाउनुभएको छ ।

सहमतिबाटै उम्मेदवारको नाम टुङ्गो लगाउन पर्ने भन्दा पनि मतदान प्रक्रियामा गएर मतदान गरेपछि  आफूहरूको असहमति रहेको नेपाली कांग्रेस बैतडीका उपसभापति बिरबहादुर बिष्टले बताउनुभयो।उहाँहरूले निर्वाचनबाट उम्मेदवार सिफारिस गर्ने कामलाई अलोकतान्त्रिक भएको तर्क गर्नुभएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.