खेलकुद

विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको रोमाञ्चक जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) ३ मा चितवन राइनोजले मङगलबार विराटनगर किङ्सलाई आठ रनले हराएर विजयी सुरुआत गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रङगशालामा टस जितेर पहिले ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा प्रतिस्पर्धात्मक १५७ रनको स्कोर तयार पारेको थियो । वेस्ट इन्डिजका सुपरस्टार अलराउन्डर आन्द्रे रसेलको विस्फोटक पालि हुँदाहुँदै विराटनगर किङ्स जवाफमा तीन बल अघि नै १४९ रनमा समेटियो ।

चितवनको पालि इङगल्यान्डका प्रारम्भिक ब्याट्सम्यान डेभिड मलानको अर्धशतकीय पालिले राम्रो भएको हो । उहाँ एनपिएल ३ मा अर्धशतक बनाउने पहिलो ब्याट्सम्यान पनि बन्नुभयो । मलानले ७० रनको उत्कृष्ट पालि खेल्नुभयो । ५० बलको सामना गरी पाँच चौका र पाँच छक्का प्रहार गरेपछि मलान वेस्टइन्डिजका रसेलको बलिङमा बोल्ड हुनुभयो ।

यसैगरी इङगल्यान्डका दुई ब्याट्सम्यन रवि बोपारा र डान माउस्लीले चौथो विकेटका लाग अविजित ६७ रनको साझेदारी निर्वाह गर्नुभयो । बोपाराले २६ बलमा एक चौका र दुई छक्कासहित ३२ र माउस्लीले २२ बलमा दुई चौका प्रहार गरेर २९ रन बनाउनुभयो । चितवनका घरेलु खेलाडी ब्याट्सम्यानहरुले निराश पारे । प्रारम्भिक ब्याट्सम्यान देव खनाल १५ बलमा १२, अर्जुन साउद ९ बलमा तीन रन बनाएर आउट हुनुभयो ।

विराटनगरले लक्ष्य पछ्याउने क्रममा राम्रो सुरुआत गरेको थियो । प्रारम्भिक ब्याट्सम्यानद्वय लोकेश बम र इमरान शेखले ४.३ ओभरमै ४० रन बटुलेपछि विराटनगरले राम्रो सुरुआत पाएको हो । लोकेश १४ बलमा चार चौका र एक छक्का प्रहार गरी २६ रनमा आउट हुनुभयो । इमरानले ३१ बलमा सर्वाधिक ३९ रन बनाउनुभयो ।

उहाँको पालिमा चार चौका र दुई छक्का सामेल थियो । श्रीलङ्काका असलन्का ९८ रन, म्याथ्युज ९१४ रन र बसिर अहमद ९१३ रन ले सुरुआत पाएर पनि त्यसलाई म्याच जित्ने पालिमा बदल्न सक्नुभएन । यद्यपि रसेलले चार छक्का र एक चौकासहत १७ बलमा ३३ रन बनाएपछि विराटनगर जिततर्फ अग्रसर थियो ।

चितवनका बलरहरुले अन्तिम समयमा शानदार बलिङ गरेपछि एक समय चार विकेटको क्षतिमा १३२ रनको स्थितिमा रहेको विराटनगर १९.३ ओभरमा अलआउट भयो । शुभम रञ्जनले अन्तिम ओभरको पहिलो बलमा चौका प्रहार गरेर खेल रोचक बनाउनुभएको थियो तर दुई बलपछि उहाँ बोल्ड हुनुभयो र चितवनले रोमाञ्चक जित हात हार्‍यो।

विराटनगरको पालिमा चार ओभरमा २६ रन खर्चेर सर्वाधिक चार विकेट लिने चितवनका तेज बलर कमलसिंह ऐरी म्यान अफ दि म्याच बन्नुभयो । यसैगरी रिजन ढकालले दुई तथा टम टेल, रञ्जित कुमार, माउस्ली र मोस्म ढकालले एक–एक विकेट लिनुभयो । चितवनका लागि प्रयोग भएका सबै बलर विकेट लिन सफल भएका हुन् ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्