चारसय सुस्ताबासीको उद्धार, नदीवारि सुरक्षित स्थानमा सारिदैँ
नवलपरासी। पश्चिम नवलपरासीको नारायणी नदी पारिको सुस्ता गाउँका स्थानीयलाई नदीवारि सुरक्षित स्थानमा सार्न थालिएको छ । शनिबार नै सुस्तावारी ल्याउन प्रयास गरेको भए पनि स्थानीयले थातथलो छाड्न नमान्दा समस्या भएको थियो । प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालका अनुसार नारायणी नदीमा निरन्तर पानीको बहाव बढेपछि अहिले सम्झाइ बुझाई गरेर उनीहरुलाई सुरक्षित स्थानमा सारिदै छ ।
शुक्रबार बाटै सुस्ताका अधिकांश स्थानीय सुस्ता गाउँमा बनाइएको आश्रय स्थलमा बस्दैआएका थिए । नारायणी नदीले खतराको तह पार गरेपनि सुस्ता उच्च जोखिममा छ । गाउँ छाड्न नमानेका उनीहरुलाई आज विभिन्न पक्षले सम्झाइ बुझाई गरेर नारायणी नदीवारी सुस्ता गाउँपालिकामा रहेका दुईवटा विद्यालयमा बस्ने प्रबन्ध गरिएको छ । “हिजो नै धेरै प्रयास गरेको हो, उनीहरुले मानेनन्, अहिले बल्ल बाढी घट्ने अवस्था नदेखेपछि हामीले फेरि आग्रह गरेर उद्धार सुरु गरेका छौँ, प्रमुख जिल्ला अधिकारी नेपालले भन्नुभयो ।
नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धार सर–समान र पशुचौपाया सहित स्थानीयलाई नदीवारी सुरक्षित ठाउँमा ल्याउने काम गरिरहेको छ । नारायणी नदीको बाढीका कारण सुस्तामा एक दर्जन कच्ची घर भत्किसकेका छन् । झन्डै ४०० स्थानीयलाई उद्धार गरेर विद्यालयमा ल्याउने काम भइरहेको नेपाल सेनाको गोरखदल गणका प्रमुख सेनानी सुरेन्द्रजंग थापाले जानकारी दिनुभयो ।
नारायणी नदीमा शुक्रबारदेखि निरन्तर जल सतह बढिरहेको छ । अहिले गण्डक बाँधमा पानीको बहाव ४ लाख ३२ हजार क्यसुेक प्रतिसेकेन्ड छ । गण्डक बाँधका संरचना पुरानो भएकाले तीन लाख क्युसेक भन्दा धेरै बहावलाई जोखिमपूर्ण मानिदैआएको छ । प्रमुख जिल्ला अधिकारी नेपालले माथिल्लो भेगमा बहाव अझै उच्च रहेकाले तल्लो तटीय क्षेत्रमा थप जोखिम रहेको बताउनुभयो ।