नेपाल

नेपालको मौसमलाई प्रभावित पार्न सुरु गर्दै ‘अर्णव’ चक्रवात

काठमाडौँ। बङ्गालको खाडीमा विकसित भएको शक्तिशाली ‘अर्णव’ चक्रवात भारतको आन्ध्र प्रदेशको विशाखापट्टनम र यानमको तटीय क्षेत्रमा बुधबार प्रवेश गरेको छ । चक्रवातले भारतका विभिन्न क्षेत्रमा अत्यधिक वर्षासँगै आँधीबेहरी सिर्जना गरिरहेको छ । यही समयमा बङ्गालको खाडीको पूर्वतर्फ फेरि अर्को बलियो न्यूनचापीय क्षेत्र बनेको छ ।

नेपालमा अर्णवको असर बुधबार बिहानदेखि पर्न सुरु भएको नेपाल मौसम विज्ञान विभागले जनाएको छ । चक्रवातको सोझो असर उच्च हिमाली भेगमा बढी देखिएको छ । सँगै बनेको अर्को प्रणालीले वर्षा र हिमपात दोहोरिने सम्भावना बढाएको नेपाल र भारतको मौसम विज्ञान विभागले जनाएका छन ।

नेपाल मौसम विज्ञान विभागकी मौसमविद् विनु महर्जनका अनुसार नेपालमा बदलीसँगै लुम्बिनी प्रदेशका एकाध स्थानमा हल्का वर्षा पनि भएको छ । उहाँले भन्नुभयो, “कात्तिक १३ र १४ गतेसम्म नेपालमा चक्रवातको असर तीव्र हुने छ, उच्च हिमाली भेगमा हिमआँधीसहितको उच्च हिमपात हुने भएकाले प्रतिकार्यमा उत्रिनुपर्ने हुन सक्छ ।”

चक्रवातका कारण कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भेगमा सय प्रतिशतसम्मको अत्यधिक उच्च हिमपात हुने भएकाले त्यहाँका मानवबस्ती र पर्यटनका कार्य आगामी तीन दिनका लागि सम्पूर्ण रूपमा बन्द गर्न विभागले अपिल गरेको छ ।

उक्त भेगमा रेड अलर्ट जारी गरिएको छ । पहाडी तथा तराईका भेगमा पनि मध्यमदेखि भारीसम्मको वर्षा हुने मौसमविद् निष्ठा निरौलाले बताउनुभयो । उहाँले थप्नुभयो, “भारतको विहारनजिक रहेका स्थानमा हावाहुरीसहितको वर्षाको सम्भावना रहेको छ ।”

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्