साहित्य

कथाकार महेन्द्र महकको कथासङ्ग्रह ‘खदामा’ विमोचन

काठमाडौँ । कथाकार महेन्द्र महकको पहिलो कथासङ्ग्रह ‘खदामा’ विमोचन गरिएको छ ।

बेला पब्लिकेशन प्रालिले प्रकाशन गरेको सङ्ग्र्रहको विमोचन कार्यक्रममा समीक्षकहरूले कृतिले वैदेशिक रोजगारीमा रहेका श्रमजीवी नेपालीको जीवन, पीडा, सङ्घर्ष र आशालाई कथात्मक रूपमा प्रस्तुत गरेको बताएका छन् ।

समीक्षक नवीन विभाषले ‘खदामा’ लाई नेपाली समाजका श्रमजीवी वर्गको प्रतिनिधि कथासङ्ग्र्रहका रूपमा व्याख्या गर्नुभयो ।

उहाँका अनुसार सङ्ग्र्रहका कथामा वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यात्मक अवस्था, विशेषगरी नारी पात्रले भोग्ने उत्पीडन र त्यसबिच देखिने आशावादी स्वर प्रस्तुत गरिएको छ । बहुभाषिक तथा पारलैङ्गिक पात्रका कथामार्फत नेपाली खस भाषालाई समेत समृद्ध बनाउन कृति सफल रहेको उहाँले बताउनुभयो ।

समीक्षक विभूति भट्टराईले ‘खदामा’ लाई वैदेशिक रोजगारीको पीडा समेटिएको कथासङ्ग्र्रहका रूपमा चर्चा गर्नुभयो ।

खाडी मुलुकमा वैदेशिक रोजगारीमा जाने नेपाली महिलाले भोग्ने पीडाको प्रतिनिधित्व कृतिले गरेको उल्लेख गर्दै उहाँले यसलाई वैदेशिक रोजगारीसँग सम्बन्धित महत्त्वपूर्ण कथा कृतिका रूपमा प्रस्तुत गर्नुभयो । उहाँका अनुसार कृतिका कथाले नेपाली युवामा प्रेरणासमेत जगाउने सामथ्र्य राख्छन् ।

लेखक महकले आफूले वैदेशिक रोजगारीका क्रममा अरबमा रहँदा भोगेका र देखेका अनुभवलाई कथामा रूपान्तरण गरेको बतानुभयो ।

कार्यस्थल र अरबका गल्लीहरूमा देखेका, भोगेका तथा महसुस गरेका श्रमिकका पीडा र अनुभवलाई कथासङ्ग्रहमा समेटिएको उहाँको भनाइ छ । सल्यानको ग्रामीण परिवेशदेखि भारतको सिमला हुँदै संयुक्त अरब इमिरेट्ससम्मको श्रम–यात्रा महकको जीवनको महत्वपूर्ण अध्याय हो । ‘खदामा’ महकको पहिलो कथासङ्ग्रह हो ।

किशोरावस्थामै श्रमको संसारमा प्रवेश गरेका उहाँले परदेशमा न्यून वेतनका श्रमिकले भोग्ने दुःख, सङ्घर्ष, एक्लोपन, आशा र ससाना खुसीलाई नजिकबाट अनुभूत गर्नुभएको थियो ।

तिनै अनुभव उहाँका कथाका विषय र संवेदनामा रूपान्तरित भएका छन् । प्रशासनिक जिम्मेवारीसँगै साहित्यिक यात्रालाई निरन्तरता दिनुभएका उहाँका कथामा प्रवासी श्रमिक जीवन, सामाजिक विस्थापन र मानवीय संवेदनाका विभिन्न तह भेटिन्छन् ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्