राजनीति

दोषीलाई कारबाही गरिएको प्रमाण जनतामाझ प्रस्तुत गर्न सभापति थापाको माग

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारको प्रवृत्तिले हद नाघेकोले यसलाई सामान्यरुपमा लिन नसकिने बताउनुभएको छ ।

हालै विभिन्न मिडिया हाउसमा पुगेर सञ्चारकर्मी पक्राउको घटना तथा समसामयिक राजनीतिक विषयमा आज पार्टीको तर्फबाट धारणा राख्नुहुँदै सभापति थापाले सरकारले शक्तिको स्वेच्छाचारी रुपमा प्रयोग गरिरहेको बताउनुभयो ।

सभापति थापाले सरकारका राम्रा–नराम्रा कामको जस अपजस सत्तारूढ पाटी रास्वपाले लिनुपर्ने भन्नुहुँदै पत्रकार पक्राउ घटनाको सम्बन्धमा वक्तव्य मात्र निकाल्ने काम नगरी घटनाको निष्पक्ष छानविन र दोषीलाई कारबाही गरिएको प्रमाण जनतामाझ प्रस्तुत गर्न माग पनि गर्नुभयो ।

काँग्रेस सभापति थापाले पत्रकार पक्राउ परेर छुट्नुले मात्र यो विषय समाप्त नहुने भन्नुहुँदै सरकारले आफ्नो अधिकार र अभिव्यक्ति स्वतन्त्रतालाई कसरी बुझेको छ भन्दै प्रश्न समेत गर्नुभयो ।

यस्तै सरकारबाट व्यापारी, कर्मचारी वृत्तमा डर त्रासको माहोल सिर्जना गर्ने काम भएको भन्दै सभापति थापाले मुलुकको अर्थतन्त्र सही बनाउने तर्फ भने सरकारको ध्यान नपुगिरहेको उल्लेख गर्नुभयो ।

यस्तै न्यायालय देखि सुरक्षा निकाय जस्ता संवेदनशील राज्यका निकायहरूमा केही अमुुख व्यक्तिको संलग्नताको विषयमा निष्पक्ष छानविन गरी कानुनी कारवाहीको दायरामा ल्याइनुपर्ने सभापति थापाले धारणा राख्नुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्