एन्जेलिना जोलीले भनिन्— ‘केही समय घुमन्ते जीवन बिताउन चाहन्छु’
एन्जेलिनाका पूर्वपति ब्राड पिटसँग म्याडक्स, प्याक्स, जाहारा, शिलो, नक्स र भिभियन गरी छ जना सन्तान छन्। यो जोडी सन् २०१६ मा अलग भएको थियो र उनीहरूको सम्बन्धविच्छेद सन् २०२४ मा टुंगिएको थियो। ती अभिनेत्रीले यसअघि आफ्ना सन्तान र उनीहरूको संरक्षण अधिकार सम्बन्धी व्यवस्थाका कारण आफू लस एन्जलसमा नै बस्नुपरेको बताएकी थिइन्।
लस एन्जलस । हलिउड अभिनेत्री एन्जेलिना जोलीले अमेरिका छोड्नेबारे चर्चा चलेको केही महिनापछि नै विदेशमा बस्ने आफ्नो योजनाको पुष्टि गरेकी छिन्। आफ्ना छोराछोरीहरूसँग लस एन्जलसमा बस्दै आएकी यी अभिनेत्रीले आफ्ना सबै सन्तान वयस्क भइसकेपछि अब देशबाहिर बढी समय बिताउने र घुमन्ते जीवनशैली अपनाउने प्रयास गरिरहेकी छिन्। जोलीले आफ्नो जीवनको यस चरणलाई “मेरो लागि एउटा निश्चित समयको अन्त्य” भनेर वर्णन गरिन्।
पहिले चलेका हल्लाहरूभन्दा फरक, उनी अब अमेरिकाबाहिर बढी समय बिताउने योजनामा रहेको देखिन्छिन्। एल अफिसियलसँगको अन्तर्वार्तामा धेरै यात्रा गर्ने र विश्वका विभिन्न भागहरूमा समय बिताउने योजनाबारे कुरा गर्दै उनले भनिन्, “मलाई लाग्छ, म अमेरिकाबाहिर बढी समय बिताउनेछु।”
यस विषयमा थप प्रस्ट पार्दै जोलीले भनिन्, “मेरो कुनै एउटै स्थायी ठेगाना वा ‘बेस’ राख्ने खासै योजना छैन। म मेरो परिवारका लागि एउटा मुख्य घर (होम बेस) चाहन्छु—जहाँ आमासँग सम्बन्धित केही सामान र पारिवारिक तस्बिरहरू राखिएका हुन्। त्यसपछि भने म केही समय घुमन्ते जीवन बिताउन चाहन्छु।”
एन्जेलिनाले ‘एटेलियर जोली’लाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने योजना पनि बनाएकी छिन्। यस सिर्जनात्मक संस्थाको विश्वव्यापी विस्तार ब्राजिलबाट सुरु हुनेछ, जहाँ अभिनेत्रीले विभिन्न ठाउँहरूको भ्रमण गर्ने तथा स्थानीय कलाकार र निर्माताहरूसँग भेटघाट गर्ने योजना बनाएकी छिन्।
उनको अन्तर्राष्ट्रिय संलग्नता मानवीय कार्यहरूसम्म पनि फैलिएको छ। संयुक्त राष्ट्रसंघसँगको सहकार्यमार्फत जोलीले विश्वभरका शरणार्थी समुदायहरूको भ्रमण जारी राखेकी छिन् भने साथसाथै कम्बोडियामा आधारित आफ्नो गैर-नाफामुखी संस्था ‘म्याडक्स फाउन्डेसन’ को विकासमा पनि काम गरिरहेकी छिन्। उनले थपिन्, “कम्बोडियास्थित मेरो घर वर्षको केही महिना खमेर संस्कृतिको प्रवर्द्धनका लागि ‘रेसिडेन्सी’ (बस्ने र काम गर्ने थलो) को रूपमा पनि रहनेछ।” एन्जेलिनाले कम्बोडियाबाट म्याडक्स नामका छोरालाई धर्मपुत्रका रूपमा अपनाएकी थिइन् र सोही छोराको नामबाट यो फाउन्डेसनको नाम राखेकी हुन्।
अब आफ्ना छवटै सन्तान वयस्क भइसकेकाले, जोली यात्रा गर्ने, अन्तर्राष्ट्रिय स्तरमा काम गर्ने र कुनै एक निश्चित ठाउँमा मात्र सीमित नभई जीवनयापन गर्ने स्वतन्त्रताको आनन्द लिन तयार देखिएकी छिन्।
एन्जेलिनाका पूर्वपति ब्राड पिटसँग म्याडक्स, प्याक्स, जाहारा, शिलो, नक्स र भिभियन गरी छ जना सन्तान छन्। यो जोडी सन् २०१६ मा अलग भएको थियो र उनीहरूको सम्बन्धविच्छेद सन् २०२४ मा टुंगिएको थियो। ती अभिनेत्रीले यसअघि आफ्ना सन्तान र उनीहरूको संरक्षण अधिकार सम्बन्धी व्यवस्थाका कारण आफू लस एन्जलसमा नै बस्नुपरेको बताएकी थिइन्।