वाशिंटन डीसीमा चारदिने छठ पर्व भव्य रूपमा सम्पन्न
वाशिङ्टन। अमेरिकाको वाशिङ्टन डीसी महानगर क्षेत्रमा सनातन हिन्दू धर्मावलम्बीहरूको आस्था, पवित्रता र सांस्कृतिक पहिचानको प्रतीक छठ महापर्व २०२६ भक्तिमय वातावरणमा सम्पन्न भएको छ।
एसोसिएसन अफ नेपाली तराईयन्स इन अमेरिका (एन्टा) र नेपाली एजुकेसन एन्ड कल्चरल सेन्टर (एनईसीसी) को संयुक्त आयोजनामा मेरिल्यान्ड राज्यको जर्मनटाउनस्थित पशुपति बुद्ध मन्दिर परिसरमा चार दिनसम्म विभिन्न धार्मिक अनुष्ठान तथा सांस्कृतिक कार्यक्रमसहित पर्व मनाइएको हो। नोभेम्बर १३ मा नहाय-खायबाट सुरु भएको महापर्व नोभेम्बर १४ मा खरना, नोभेम्बर १५ मा अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य तथा नोभेम्बर १६ को बिहान उदाउँदो सूर्यलाई उषा अर्घ्य अर्पण गर्दै विधिवत् रूपमा समापन भएको आयोजकले जनाएको छ।
पर्वमा विभिन्न अमेरिकी राज्यहरूबाट आएका व्रती, श्रद्धालु भक्तजन, सामाजिक अभियन्ता, विभिन्न संघसंस्थाका पदाधिकारी तथा स्वयंसेवकहरूको उत्साहजनक सहभागिता थियो। छठी मैया र भगवान् सूर्यनारायणको आराधनासँगै सम्पूर्ण मानवजातिको सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गरिएको थियो।
छठ महापर्वको सन्ध्या अर्घ्य कार्यक्रममा संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूतावासका कार्यवाहक राजदूत शरदराज आरण प्रमुख अतिथिका रूपमा सहभागी भए। उनलाई एन्टाका अध्यक्ष मोहनकुमार यादव लगायत आयोजक समितिका प्रतिनिधिहरूले स्वागत तथा अभिनन्दन गरेका थिए।
कार्यवाहक राजदूत आरणले छठ पूजा स्थलको अवलोकन गर्दै पूजा विधि, सामुदायिक सहभागिता तथा सांस्कृतिक गतिविधिबारे जानकारी लिए। अमेरिकामा रहेर पनि नेपाली समुदायले सनातन धर्म, छठ परम्परा तथा मिथिला-मधेशको मौलिक संस्कृतिलाई जीवन्त राखेकोमा खुसी व्यक्त गर्दै उनले आयोजकको प्रशंसा गरे।
यस्ता पर्वले नयाँ पुस्तालाई आफ्नो धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोड्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै उनले आगामी वर्षहरूमा कार्यक्रमलाई अझ व्यवस्थित र व्यापक बनाउँदै लैजान सुझाव दिए।
चारदिने छठ महापर्व सम्पन्न भएपछि एन्टा अध्यक्ष मोहनकुमार यादवसहित आयोजक प्रतिनिधिहरूले वाशिङ्टन डी.सी.स्थित नेपाली राजदूतावासमा पुगेर कार्यवाहक राजदूत आरणलाई छठी मैयाको पवित्र प्रसाद प्रदान गरे। प्रसाद ग्रहण गर्दै कार्यवाहक राजदूत आरणले पर्व अत्यन्त सभ्य र पारिवारिक वातावरणमा सम्पन्न भएकोमा प्रसन्नता व्यक्त गरे।
कार्यक्रममा एनईसीसीका अध्यक्ष प्रज्वल रेग्मी, एनएसीसीका अध्यक्ष अरुण रुपाखेती, अवैतनिक महावाणिज्यदूत प्रेमराजा महत, एन्टाका पूर्वअध्यक्ष विजयकुमार सिंह र वर्तमान अध्यक्ष मोहनकुमार यादव लगायतको उपस्थिति थियो।
छठ महापर्व सफल बनाउन धर्मेन्द्र शर्मा, धर्मेन्द्र ठाकुर, ऊषा सिंह, परमेश्वर महतो, गोपाल झा तथा परिवार, सन्ध्या झा, ज्योत्सना दास, रञ्जना झा तथा परिवार, कृष्णमुरारी खड्का, अरविन्द मण्डल, राजेशकुमार गुप्ता, सोनिया साह, कुमार चौधरी, सिम्पल साह तथा मञ्जुकुमारी यादव लगायतका स्वयंसेवक तथा सहयोगीहरूले सक्रिय भूमिका निर्वाह गरेका थिए । चार दिनसम्म व्रत र अनुष्ठानमा समर्पित रहने मञ्जुकुमारी यादवसहित सम्पूर्ण व्रती परिवार, डीएमभी तथा मेरिल्यान्ड च्याप्टरका प्रतिनिधि र मन्दिर व्यवस्थापन समितिलाई आयोजकले विशेष आभार व्यक्त गरेको छ।
एन्टा अध्यक्ष यादवले छठ महापर्वले विदेशमा रहेका नेपाली र नयाँ पुस्तालाई मातृभूमि, धर्म र संस्कारसँग जोड्ने अवसर प्रदान गरेको बताए । उनले आगामी दिनमा पशुपति बुद्ध मन्दिरको विकास तथा सांस्कृतिक संरक्षणमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाए।