‘ब्लुफ्लाइ’को सेटमा प्रियंका चोपडाकी साथमा उनकी छोरी माल्टी मेरी समुन्द्र तटमा टहल्दै
लस एन्जलस। हाल ‘ब्लुफ्लाइ’ नामक साइन्स-फिक्सन एक्सन थ्रिलर चलचित्रको छायाङ्कनमा व्यस्त प्रियंका चोपडाले सुटिङ सेटका केही दृश्यहरू सार्वजनिक गर्दै आफ्ना प्रशंसकहरूलाई चकित पारेकी छिन्। अष्ट्रेलियाको गोल्ड कोस्टमा छायाङ्कन गरिरहेकी यी अभिनेत्रीले आफूसँगै छोरी माल्ती र आमा मधु चोपडा पनि रहेको जानकारी दिएकी छिन्।
सार्वजनिक गरिएका तस्बिर तथा भिडियोहरूमध्ये पहिलो क्लिपमा प्रियंका समुद्र किनारमा सङ्गीत सुन्दै शान्त भएर हिँडिरहेको देखिन्छिन्। अर्को तस्बिरमा उनकी छोरी माल्ती, हजुरआमा मधु चोपडासँगै बालुवामा खेलिरहेको देखिन्छिन्। त्यस्तै, अर्को एउटा तस्बिरमा माल्ती ‘ब्लुफ्लाइ’ को सेटमा प्रियंकाको चलचित्रको स्क्रिप्ट पढिरहेको देखिन्छिन्।
यसै शृङ्खलाको अर्को भिडियोमा प्रियंका र माल्ती पूजामा बसेको एउटा हृदयस्पर्शी दृश्य समेटिएको छ। सानी माल्ती गायत्री मन्त्र गाइरहेकी छिन् भने प्रियंका उनलाई हौसला दिँदै छिन्। अन्य तस्बिरहरूमा प्रियंका आफ्नो आगामी चलचित्रको छायाङ्कनका साथै छोरीसँग समय बिताइरहेको देख्न सकिन्छ।
यो पोस्ट साझा गर्दै अभिनेत्रीले लेखेकी छिन्, “अचेल… कामको निकै व्यस्ततामा छु… तर एकदमै सपनाजस्तो लाग्ने ठाउँमा छु।”
यसअघि, ‘द हलिउड रिपोर्टर’ सँगको एक अन्तर्वार्तामा प्रियंकाले अष्ट्रेलियामा छायांकन गर्ने अनुभव र आफूलाई ‘गोल्ड कोस्ट’ कति मन पर्छ भन्नेबारे कुरा गरेकी थिइन्। उनले भनिन्, “अष्ट्रेलियामा, विशेष गरी गोल्ड कोस्टमा धेरै छायांकन हुने गर्छ, र यो मेरो छायांकनका लागि सबैभन्दा मनपर्ने ठाउँहरूमध्ये एक हो।”
उनले थपिन्, “यो सबै कुराबाट निकै टाढा छ, तर बिहान उठ्दा—मेरी छोरी मसँगै हुन्छिन्—हामी समुद्र किनारमा टहल्न जान्छौं र बिहानको खाजा खान्छौं। छोरीलाई यो धेरै मन पर्छ, मलाई पनि मन पर्छ। यहाँ छायांकन गर्न पाउनु साँच्चै अद्भुत कुरा हो।”
निम्रोद अन्तालद्वारा निर्देशित ‘ब्लुफ्लाइ’ मा प्रियंका चोपडा र रसेल क्रो मुख्य भूमिकामा छन्। चलचित्रको कथाअनुसार, कंगोमा एउटा अत्याधुनिक सैन्य विमान बेपत्ता भएपछि, पूर्व पाइलट बेनी (रसेल क्रो) र संयुक्त राष्ट्र संघकी दोभाषे माइला रिस (प्रियंका चोपडा) ले अमेरिकी विशेष सैन्य टोलीसँग मिलेर काम गर्छन्। यो चलचित्र सन् २०२७ अप्रिल ७ मा विश्वव्यापी रूपमा सिनेमाघरहरूमा प्रदर्शन हुने तय गरिएको छ।