अर्थ

चालु आवको तीन महिना: मुद्रास्फीति ६.३७ प्रतिशत, विदेशी मुद्रा सञ्चिति रु ४१ खर्ब १४ अर्ब

काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा वार्षिक विन्दुगत उपभोक्ता मूल्यवृद्धि (मुद्रास्फीति) छ दशमलव ३७ प्रतिशत रहेको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत असोज मसान्तसम्ममा विदेशी मुद्रा सञ्चिति रु ४१ खर्ब १४ अर्ब पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २७ अर्ब ३९ करोड डलर रहेको छ । उक्त सञ्चितिले १७ दशमलव दुई महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिवेदनअनुसार समीक्षा अवधिमा चालु खाता रु दुई खर्ब ७९ अर्ब ११ करोड र शोधनान्तर स्थिति रु तीन खर्ब तीन अर्ब ७९ करोड बचतमा रहेको छ । यस अवधिमा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २७.२ प्रतिशत र अमेरिकी डलरमा १६.७ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्षको असोज महिनामा मात्रै विप्रेषण आप्रवाह रु दुई खर्ब ६७ अर्ब ३४ करोड रहेको छ ।

त्यस्तै, समीक्षा अवधिमा निर्यात ५७ प्रतिशत र आयात ३८.२ प्रतिशतले बढेको छ । नेपाल सरकारको कुल खर्च रु तीन खर्ब ९६ अर्ब २७ करोड रहेको छ भने राजस्व परिचालन रु दुई खर्ब ९८ अर्ब ६१ करोड रहेको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, विस्तृत मुद्राप्रदाय चार दशमलव चार प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १४ दशमलव ८ प्रतिशतले वृद्धि भएको छ । प्रतिवेदनअनुसार बैङ्क तथा वित्तीय संस्थाको निक्षेप परिचालन दुई दशमलव आठ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा तीन दशमलव एक प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १३ दशमलव सात प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर आठ दशमलव तीन प्रतिशत रहेको छ ।

बैङ्क तथा वित्तीय संस्थाबीचको भारित औसत अन्तरबैंक दर दुई दशमलव ७५ प्रतिशत रहेको छ भने ९१ दिने अवधिको ट्रेजरी बिलको भारित औसत ब्याजदर एक दशमलव ०१ प्रतिशत रहेको छ ।

त्यसैगरी, वाणिज्य बैङ्कहरूको निक्षेपको भारित औसत ब्याजदर तीन दशमलव ०७ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर छ दशमलव ३१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । रासस

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्