राजनीति

एमालेको राष्ट्रिय भेला : २१ बुँदे विशेष प्रस्ताव र सङ्कल्प पारित

काठमाडौँ । नेकपा (एमाले)को आज सम्पन्न राष्ट्रिय कार्यकर्ता भेलाले लोकतन्त्रको पुनर्बहाली, राष्ट्रिय स्वाधीनताको रक्षा, पार्टीको सङ्गठनात्मक सुदृढीकरण तथा स्थानीय निर्वाचनको तयारीलगायत विषय समेटेर २१ बुँदे समसामयिक विशेष प्रस्ताव र सङ्कल्प पारित गरेको छ ।

दुई दिने भेलाले आगामी स्थानीय, प्रदेश र राष्ट्रियसभा निर्वाचनको पूर्वतयारी गर्ने तथा आवश्यक परे राष्ट्रिय स्वाधीनताको रक्षा र लोकतान्त्रिक प्रक्रियाको पुनर्बहालीका लागि आन्दोलनको तयारी गर्ने निर्णय पनि गरेको छ ।

‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल, सुखी नेपाली हाम्रो गन्तव्य’ मूल नाराका साथ आयोजित भेलामा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो । भेलामा देशभर र प्रवासबाट गरी तीन हजार ४१४ प्रतिनिधिको सहभागिता रहेको थियो ।

भेलाले वर्तमान सरकारका कार्य, लोकतन्त्र र संविधानको अवस्था, राष्ट्रिय स्वाधीनता, जनजीविका, बाढीपीडितको पुनःस्थापना, सडक सुरक्षा, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पार्टीको आन्तरिक जीवनका विषयमा धारणा सार्वजनिक गरेको छ ।

भेलाले २०८२ भदौ २३ र २४ गतेका घटनाको निष्पक्ष छानबिनका लागि सक्षम न्यायिक आयोग गठन गर्न र घटनामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याउन पनि भेलाले माग गरेको एमालेका प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिनुभयो ।

पारित प्रस्तावमा संविधान, सङ्घीयता र संवैधानिक संस्थाको संरक्षण गर्नुपर्नेमा जोड दिँदै प्रदेश खारेजी, संवैधानिक निकायमाथिको हस्तक्षेप तथा राज्यका संस्थाहरूलाई राजनीतिक स्वार्थअनुसार परिचालन गर्ने प्रयासप्रति आपत्ति जनाइएको छ ।

जनजीविकाका सवालमा महँगी नियन्त्रण, घरायसी प्रयोजनको विद्युत्मा लगाइएको कर फिर्ता, सुकुम्बासीको उचित व्यवस्थापन तथा व्यवसायीका लागि अनुकूल वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण गराइएको छ । सार्वजनिक सम्पत्ति, राजनीतिक दलका कार्यालय, निजी सम्पत्ति तथा व्यावसायिक प्रतिष्ठानमा भएको तोडफोड र आगजनीमा संलग्नलाई कारबाही गर्न पनि माग गरिएको छ ।

राष्ट्रिय स्वाधीनता र परराष्ट्र सम्बन्धका विषयमा भेलाले छिमेकी मुलुकसँगको सम्बन्ध सार्वभौम समानता, पारस्परिक लाभ र सम्मानमा आधारित हुनुपर्ने उल्लेख गरेको छ । प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका सन्दर्भमा सीमा समस्या, असमान सन्धि, प्रबुद्ध व्यक्ति समूह (इपिजी) को प्रतिवेदन, व्यापार घाटा, हवाई प्रवेश बिन्दु र लामो समयदेखि रोकिएका परियोजनाका विषयमा स्पष्ट धारणा राख्न आग्रह गरिएको छ ।

भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै भेलाले बाढीपीडितको तत्काल पुनःस्थापना, पुनर्निर्माण र राहत वितरण प्रभावकारी बनाउन माग गरेको छ । बाढी प्रभावित बालबालिका, गर्भवती तथा सुत्केरी, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका समस्या प्राथमिकताका साथ सम्बोधन गर्नुपर्नेमा जोड दिइएको छ । बाढीबाट क्षतिग्रस्त पुल तथा सडकको मर्मतसम्भार गरी यातायात सम्पर्क विच्छेद भएका बस्तीलाई जोड्न र वैज्ञानिक अध्ययनका आधारमा बस्ती पुनर्निर्माण गर्न पनि आग्रह गरिएको छ ।

जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको विपत्तिलाई जलवायु न्यायको विषयका रूपमा उठाउँदै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रभावकारी कूटनीतिक भूमिका आवश्यक रहेको प्रस्तावमा उल्लेख छ । त्यस्तै, बढ्दो सडक दुर्घटना न्यूनीकरणका लागि सडक स्तरोन्नति, सवारीसाधनको गुणस्तर परीक्षण र चालकको सीप तथा अनुशासन कायम गर्न माग गरिएको छ ।

भेलाले राष्ट्रिय हित, लोकतन्त्र र संविधानको रक्षाका लागि सबै देशभक्त, लोकतन्त्र र संविधान पक्षधर राजनीतिक दल, नागरिक समाज तथा बौद्धिक समुदायसँग संवाद, सहकार्य र जनदबाब सिर्जना गर्न आह्वान गरेको छ । प्रवासी नेपालीको मताधिकार, नागरिकता, लगानी, रोजगारी र सामाजिक सुरक्षासम्बन्धी सरोकार सम्बोधन गर्नुपर्ने उल्लेख गर्दै खाडी क्षेत्रमा कार्यरत नेपाली श्रमिकको सुरक्षा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।

भेलाले पार्टीको आन्तरिक जीवनमा सुधार, शुद्धीकरण र सुदृढीकरणलाई प्राथमिकतामा राखेको छ । त्यसमा पार्टीलाई वैचारिक, सङ्गठनात्मक र भावनात्मक रूपमा एकताबद्ध बनाउने, विगतका कमजोरी सच्याउने र उच्च मनोबलका साथ जनतामाझ जाने प्रतिबद्धता व्यक्त गरिएको छ ।

पारित प्रस्तावमा युवा पुस्तासँग संवाद र सहकार्य बढाउने, उनीहरूको मनोविज्ञान र सरोकार बुझ्ने तथा पार्टी र आन्दोलनमा प्रभावकारी सहभागिता सुनिश्चित गर्ने उल्लेख छ । पार्टीका नेता तथा कार्यकर्तामा देखिएका विलासी जीवनशैली, जनताबाट टाढिने प्रवृत्ति, आर्थिक तथा आचरणगत विचलन र भ्रष्टाचारप्रति निर्मम हुने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।

त्यस्तै, जिम्मेवारीअनुसार जबाफदेही हुने, पार्टी विधान, नियमावली र आचारसंहिताको पूर्ण पालना गर्ने, गुटबन्दी र अस्वस्थ प्रतिस्पर्धा अन्त्य गर्ने तथा अधिवेशन र बैठकमा स्वस्थ बहस र लोकतान्त्रिक विधिलाई सम्मान गर्ने सङ्कल्प गरिएको छ । आगामी निर्वाचनमा जनता र कार्यकर्ताको भावना तथा निर्धारित विधिअनुसार उम्मेदवार छनोट गर्ने र पार्टीको निर्णयअनुसार उम्मेदवारलाई विजयी बनाउन सम्पूर्ण शक्ति परिचालन गर्ने प्रतिबद्धता पनि भेलाले गरेको छ ।

भेलामा अध्यक्ष ओलीले ‘आजका दुई कार्यभार र गर्नुपर्ने १५ काम’, वरिष्ठ नेता विद्यादेवी भण्डारीले ‘पार्टीमा नयाँ ऊर्जा, उत्साह र आत्मविश्वास सिर्जना गर्ने सङ्कल्प गरौँ’, उपाध्यक्ष रामबहादुर थापाले ‘राष्ट्रिय स्वाधीनता, लोकतन्त्र तथा समृद्धिका लागि सङ्कल्प गरौँ’ विषयमा सम्बोधन गर्नुभएको थियो ।

त्यसैगरी, उपाध्यक्ष विष्णु पौडेलले एमालेले देश र जनताको पक्षमा गरेका महत्त्वपूर्ण कार्य प्रस्तुत गर्नुभएको थियो भने महासचिव शङ्कर पोखरेलले पार्टीको शुद्धीकरण, सुदृढीकरण र स्थानीय निर्वाचनको तयारीका विषयमा प्रशिक्षणमूलक सम्बोधन गर्नुभएको थियो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्