राजनीति

निर्वाचनको हारबाट पाठ सिकेर अघि बढ्नुपर्छ: वरिष्ठ नेता भण्डारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ नेता विद्यादेवी भण्डारीले गत निर्वाचनमा पार्टीले व्यहोर्नुपरेको हार अस्थायी भएकाले यसबाट सुधार गर्नुपर्ने पाठ सिकेर अघि बढ्न नेता, कार्यकर्तालाई आह्वान गर्नुभएको छ ।

पार्टीको राष्ट्रिय भेलाको आज दोस्रो दिन उहाँले अगुवा नेता तथा कार्यकर्तालाई  निराश नभई नयाँ ऊर्जा, उत्साह र आत्मविश्वासका साथ अघि बढ्न आह्वान गर्नुभयो । एघार वर्षपछि पार्टी जीवनको सक्रिय राजनीतिमा फर्कनुभएकी नेत्री भण्डारीले सम्बोधन गर्दै एउटा निर्वाचनको हारले राजनीतिक आन्दोलनको भविष्य निर्धारण नगर्ने जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, “निराश भएर निष्क्रिय बस्ने होइन, हारबाट सही र सकारात्मक पाठ सिक्दै, सुधार गर्नुपर्ने पक्षलाई सुधार्दै कमीकमजोरी सच्याउँदै आगामी स्थानीय तहलगायत निर्वाचनमा केन्द्रित हुनुपर्छ ।” उहाँले सक्रिय राजनीतिमा आफ्नो पुनरागमनबारे स्पष्ट पार्दै आफू व्यक्तिगत पद, सुविधा वा अवसरका लागि नभई मातृ पार्टीको वैचारिक विकास, सङ्गठनात्मक सुदृढीकरण र सामाजिक-आर्थिक रूपान्तरणमा योगदान पुर्‍याउन फर्किएको बताउनुभयो ।

राष्ट्रपति जस्तो गरिमामय संवैधानिक जिम्मेवारी सम्हाल्दा देशको सार्वभौमसत्ता, राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डता र छिमेकी तथा मित्रराष्ट्रसँगको सम्बन्ध प्रवर्द्धनमा भूमिका खेलेको उल्लेख गर्दै पूर्वराष्ट्रपतिसमेत रहनुभएकी भण्डारीले अब कुनै पनि पदप्रति आशक्ति नभएको जनाउनुभयो । उहाँले मुलुकको कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीचको शक्ति सन्तुलनमा प्रतिकूल प्रभाव पर्ने गतिविधि कसैले गर्न नहुने धारणा राख्नुभयो ।

पार्टी शुद्धीकरण, जनसङ्गठन र जलवायु न्याय जननेता मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद (जबज)लाई भाषण र दस्ताबेजमा मात्र सीमित नराखी दैनिक व्यवहार, निर्णय प्रक्रिया र सङ्गठन सञ्चालनमा उतार्नुपर्ने उहाँले बताउनुभयो । उहाँले युवापुस्तामा बढ्दो निराशा, बेरोजगारी र विदेश पलायन रोक्न जनसङ्गठनले उद्यमशीलता विकास, बहस र रचनात्मक अभियान चलाउनुपर्ने तथा निर्वाचित जनप्रतिनिधिले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र सुशासनमा पारदर्शी ढङ्गले काम गर्नुपर्ने उहाँले बताउनुभयो । एमालेको दुई दिने भेला आज सम्पन्न हुनेछ । रासस

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्