खेलकुद

एनपिएल : चितवनलाई ३ विकेटले पराजित गर्दै सुदूरपश्चिम फाइनलमा प्रवेश

काठमाडौँ । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) सिजन-३ को फाइनलमा प्रवेश गरेको छ । 

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै सुदूरपश्चिम लगातार तेस्रो पटक फाइनलमा पुगेको हो ।

सुदूरपश्चिमले अब उपाधिका लागि शनिबार हुने फाइनल खेलमा लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ । चितवनले दिएको १३४ रनको लक्ष्य सुदूरपश्चिमले १९.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो । सुदूरपश्चिमको जितमा थरिन्दु रत्नायकेले अविजित ५३ रनको योगदान दिए । उनले ४२ बलमा ५३ रन बनाए।

सुरुवातदेखि नै दबाबमा परेको सुदूरपश्चिमले चौथो ओभरमा पहिलो विकेट गुमायो । ओपनर जर्ज मन्से १५ बलमा आठ रन बनाएर आउट भए। उनलाई चितवनका रिजन ढकालले आउट गरे। त्यसपछि आक्रामक ब्याटिङ गरिरहेका अर्का ओपनर विनोद भण्डारी १३ बलमा २३ रन बनाएर पभेलियन फर्किए। उनलाई रन्जित कुमारले आउट गरे । पावरप्लेमा सुदूरपश्चिमले दुई विकेट गुमाएर ४१ रन बनाएको थियो ।

तेस्रो नम्बरमा आएका स्कट कुगेलाइन ५ बलमा २ रन बनाएर आउट भए । इशान पाण्डेले नौ बलमा १० रन बनाए । उनलाई पनि रन्जित कुमारले पभेलियन पठाए ।

त्यसपछि ब्याटिङमा आएका कप्तान दीपेन्द्रसिंह ऐरीले १६ बलमा १५ रन बनाए । आरिफ शेखले १० बलमा १० रन जोडे । लगातार विकेट गुमाएपछि दबाबमा परेको सुदूरपश्चिमको इनिङ्स रत्नायकेले सम्हाले । उनले अन्तिमसम्म टिकेर टोलीलाई जितसम्म पुर्‍याए ।

बलिङतर्फ चितवनका रन्जित कुमारले २ विकेट लिए । सलाउद्दिन खान, उसामा मिर, कमल सिंह ऐरी र रिजन ढकालले समान एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३३ रन बनाएको थियो । चितवनका लागि डाविड मलानले अविजित ७१ रन बनाए। उनले ५१ बलमा ९ चौका र २ छक्का प्रहार गरेका थिए । ओपनर कमिल मिशारा ३ बलमा ४ रन बनाएर आउट भए भने देव खनालले ९ बलमा ६ रन बनाए । कप्तान रवि बोपारा १, विवेक यादव ३, कुशल मल्ल १ र उसामा मिर २ रन बनाएर पभेलियन फर्किए ।

सलाउद्दिन खानले १६ बलमा १८ तथा कमल सिंह ऐरीले ८ बलमा १० रन बनाए । बलिङतर्फ सुदूरपश्चिमका स्कट कुगेलाइनले ३ विकेट लिए । थरिन्दु रत्नायकेले २ तथा हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले समान १ विकेट लिए ।

पहिलो क्वालिफायरमा लुम्बिनीसँग पराजित भएपछि सुदूरपश्चिमले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर खेल्नुपरेको थियो । चितवनले भने एलिमिनेटरमा काठमाडौँ गोर्खाजलाई पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्