चितवन राइनोजद्वारा गैंडा कप २०२६ घोषणा, नेपाली क्रिकेटको भावी पुस्तालाई प्रोत्साहन
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज चितवन राइनोजले गैंडा कप २०२६ घोषणा गरेको छ। युवा तथा उदीयमान क्रिकेटरलाई प्रतिस्पर्धात्मक क्रिकेटको अनुभव दिलाउने, आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने तथा क्रिकेट यात्रामा थप अघि बढ्न सहयोग गर्ने उद्देश्यले एकेडेमीस्तरीय क्रिकेट प्रतियोगिता आयोजना गर्न लागिएको हो।
गैंडा कप २०२६ को पहिलो संस्करण आगामी ३० सेप्टेम्बर – ३ अक्टोबर २०२६ सम्म गौरीटार क्रिकेट मैदान, हेटौंडामा सञ्चालन हुनेछ। प्रतियोगितामा बागमती प्रदेशका १२ क्रिकेट एकेडेमी सहभागी हुनेछन्।
प्रतियोगितामा ग्रेट हिमालय क्रिकेट एकेडेमी (जीएचसीए), क्रिकेट एक्सिलेन्स सेन्टर (भक्तपुर, बालुवाटार र बुढानीलकण्ठ), इस्टर्न क्रिकेट एकेडेमी, हेटौंडा स्पोट्र्स एकेडेमी, मास्टर क्लास क्रिकेट एकेडेमी, एन्जल्स स्पोट्र्स क्रिकेट एकेडेमी, काठमाडौं क्रिकेट एकेडेमी, भक्तपुर क्रिकेट सेन्टर, भरतपुर क्रिकेट एकेडेमी र चितवन ट्रेनिङ सेन्टर लगायतका एकेडेमी सहभागी हुनेछन्।
चितवन राइनोजका लागि गैंडा कप केवल एक क्रिकेट प्रतियोगिता मात्र नभई ग्रासरुट क्रिकेटको विकास, खेलाडी विकास तथा प्रतिभा पहिचानप्रतिको क्लबको प्रतिबद्धताको हिस्सा हो। प्रतियोगितामार्फत युवा क्रिकेटरलाई प्रतिस्पर्धात्मक क्रिकेटको अनुभव दिलाउँदै आफ्नो क्षमता प्रदर्शन गर्ने र थप अवसर तथा एक्सपोजर प्राप्त गर्ने वातावरण सिर्जना गर्ने लक्ष्य राखिएको छ।
प्रतियोगिताको कुल पुरस्कार राशि रु. ६,००,००० रहेको छ। विजेताले रु. २,००,००० तथा उपविजेताले रु. ५०,००० प्राप्त गर्नेछन्। उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई समेत व्यक्तिगत पुरस्कार प्रदान गरिनेछ। प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई रु. १०,०००, उत्कृष्ट ब्याट्सम्यानलाई रु. ५,०००, उत्कृष्ट बलरलाई रु. ५,००० तथा म्यान अफ द म्याचलाई रु. २,००० प्रदान गरिनेछ।