खेलकुद

विश्वकप लिग–२ शृङ्खला : क्यानडाविरुद्ध नेपाल पराजित

काठमाडौँ । आइसिसी विश्वकप लिग–२ शृङ्खलाअन्तर्गत क्यानडाविरुद्ध नेपाल २४ रनले पराजित भएको छ । 

आज भएको खेलमा क्यानडाले दिएको २५७ रनको लक्ष्य पछ्याएको नेपाली टोली ४६ ओभरमा २३२ रनमै अलआउट भयो ।

नेपालका लागि ओपनर अर्जुन कुमालले उत्कृष्ट पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । उनले आज ११२ बलमा चार चौकासहित ८७ रनको पारी खेले ।

यस्तै, दीपेन्द्रसिंह ऐरीले २७, इशान पाण्डे र गुलशन झाले २१–२१, आसिफ शेखले २०, रोहितकुमार पौडेलले १८ र करण केसीले अविजित १७ रन जोडे ।

क्यानडाका लागि बलिङतर्फ सुखजिन्दर सिंहले ३, कलिम सना र शील पटेलले २–२ विकेट लिए । त्यसअघि अलअमरात क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २५६ रन बनायो । उसका लागि ओपनर युवराज सम्राले शतकीय पारी खेले । उनले ११७ बलमा ११ चौका र चार छक्कासहित १०५ रनको पारी खेलेका हुन् । एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा युवराजको यो पहिलो शतक हो ।

आरोन जोनसनले ३६, हर्ष ठाकरले ३४, कप्तान हम्जा तारिकले ३० र समित गोयलले १७ रन जोडे । नेपालका लागि बलिङतर्फ ललितनारायण राजवंशीले ४, कप्तान सन्दीप लामिछानेले ३, दीपेन्द्रसिंह ऐरीले २ तथा रोहितकुमार पौडेलले १ विकेट लिए ।

यो हारपछि नेपाल विश्वकप लिग–२ तालिकाको सातौँ स्थानमा झरेको छ । शीर्ष छमा स्थान बनाउन नेपालले अब अन्तिम खेलमा ओमानविरुद्ध जित्नैपर्ने समीकरण बनेको छ । नेपाल र ओमानबीचको खेल सोमबार हुने तालिका छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्