खेलकुद
एनपीएलः चितवन राइनोजसँग पोखरा एभेन्जर्स ३० रनले पराजित
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ३० रनले पराजित गरेको छ ।
आज त्रिवि क्रिकेट मैदानमा भएको खेलमा चितवनले दिएको एक सय ५२ रनको लक्ष्य पछ्याएको पोखरा १९ ओभरमा एक सय २१ रनमै अलआउट भयो ।
पोखराका अर्जुन कुमालले सर्वाधिक ४५ रन बनाए । यस्तै, युवराज शर्माले १९ तथा किरण ठगुन्नाले १३ रन जोडे ।
चितवनका रिजन ढकालले चार तथा कमलसिंह ऐरीले तीन विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ५१ रन बनाएको थियो । चितवनका कप्तान सिकन्दर रजाले ३७, रवि बोपाराले ३२, अर्जुन साउदले ३१ र डेभिड मलानले २७ रन बनाए ।