खेलकुद

एनपिएलः पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सको जित

काठमाडौँ । काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगितामा जनकपुर बोल्ट्सले लगातार दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्नेक्रममा जनकपुर बोल्ट्सले आज सम्पन्न खेलमा पोखरा एभेन्जर्सलाई नौ रनले हरायो ।

पोखराले भने प्रतियोगितामा हारको शृङ्खला तोड्न सकेको छैन । पोखरा पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग पनि पराजित भएको थियो । आफ्नो दोस्रो खेलमा जनकपुरबाट प्राप्त १४८ रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा नौ गुमाएर १३८ रन बनायो ।

पोखराका लागि कुशल भूर्तेलले २४ बलमा पाँच चौकासहित सर्वाधिक ३५ रन बनाउनुभयो । यस्तै, विपिन आचार्यले २०, विपिन खत्रीले अविजित १७ र किरण ठगुन्नाले १५ रन बनाउनुभयो । बाँकी ब्याटरले भने दोहोरो अङ्कमा पनि रन जोड्न सकेनन् ।

बलिङतर्फ जनकपुर बोल्ट्सका लागि मोइन अलीले चार ओभरमा एक मेडनसहित १३ रन दिएर सर्वाधिक तीन विकेट लिनुभयो । यस्तै, हरमित सिंह र सैफ हसनले समान दुई–दुई तथा जिमी निशम र ललितनारायण राजवंशीले एक–एक विकेट लिनुभयो।

त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १४७ रन बनायो । जनकपुरका लागि प्रारम्भिक ब्याटर तृतराज दासले अर्धशतकीय इनिङ खेल्नुभयो। उहाँले ५५ बलमा सात चौका र दुई छक्काको मद्दतमा ६१ रनको इनिङ खेल्नुभएको हो ।

जारी एनपिएल करिअरमा तृतराजको यो पहिलो अर्धशतक हो । यस्तै, मोइन अलीले १६ बलमा तीन चौका र एक छक्कासहित २१ रन बनाउनुभयो । अविजित रहेका अभिषेक तिवारीले १० बलमा २ छक्का र १ चौकासहित २४ रनको उत्कृष्ट पारी खेले । जिमी निशम ११ रनमा आउट हुनुभयो ।

बलिङतर्फ पोखरा एभेन्जर्सका लागि शाकिब अल हसनले चार ओभरमा १५ रन दिएर सर्वाधिक तीन विकेट लिनुभयो । यस्तै, चमिका करुणारत्नेले दुई, मेहदी हसन र मोहम्मद सैफउद्दिनले समान एक–एक विकेट हात पार्नुभयो । आजको जितपछि जनकपुर अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । उसले तीन खेलबाट चार अङ्क जोडेको छ । अङ्कविहीन पोखरा भने तालिकाको पुछारमा रहेको छ । रासस

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्