ब्रोड पिक हिमपहिरोमा मर्ने नेपालीसहित चार आरोहीको शव भेटियो, निर्मल पुर्जासहित छ जना बेपत्ता
अल्पाइन क्लब अफ पाकिस्तान (एसीपी) का अनुसार १० जना आरोहीको टोली आरोहणका क्रममा रहेका बेला बिहीबार मध्याह्नतिर हिमपहिरोमा परेको थियो। टोलीमा कीर्तिमानी आरोही निर्मल पुर्जा सहित ६ जना नेपाली, एक जना पाकिस्तानी, एक जना ओमानी, एक जना अमेरिकी र एक जना चिनियाँ नागरिक रहेका छन्। बेपत्ता नेपाली आरोहीमा पुर्जाका साथै किली पेम्बा शेर्पा, निमा शेर्पा, नवाङ थिन्दु शेर्पा र ग्यालु शेर्पा हुनुहुन्छ।
काठमाडौँ । पाकिस्तानस्थित विश्वको १२ औँ अग्लो हिमाल ‘ब्रोड पिक’ मा हिमपहिरो जाँदा चार जना आरोहीको शव फेला परेको छ भने प्रख्यात नेपाली आरोही निर्मल पुर्जासहित छ जना आरोही बेपत्ता भएका छन्।
अल्पाइन क्लब अफ पाकिस्तान (एसीपी) का अनुसार १० जना आरोहीको टोली आरोहणका क्रममा हिमपहिरोमा परेका थिए। बेपत्ता आरोहीमा पाँच जना नेपाली छन्।
खराब मौसमका बिच उद्धार टोलीले फेला परेका चार वटा शव सङ्कलन गर्ने प्रयास गरिरहेको छ। गिल्गित-बाल्टिस्तान क्षेत्रका पर्यटन विभागका उपनिर्देशक साजिद हुसेनलाई उद्धृत गर्दै अलजजिराले लेखेको खबर अनुसार बाँकी छ जना बेपत्ता आरोहीको खोजी दुर्गम तथा जटिल क्षेत्रमा केन्द्रित गरिएको छ।
विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल सबैभन्दा छोटो समयमा आरोहण गरेर कीर्तिमान कायम गर्नुभएका ४३ वर्षीय पुर्जाको टोलीसँग हिमपहिरोपछि सम्पर्क विच्छेद भएको हो। उद्धारका लागि हेलिकोप्टरसहितका सबै उपलब्ध साधन-स्रोत परिचालन भइरहेको जनाएको छ।
पाकिस्तानको डन अनलाइनका अनुसार मृत्यु हुनेमा ओमानकी नधिरा अहमद अब्दुल्लाह अल हार्थी र नेपालका पुरबहादुर गुरुङ छन्।
अल्पाइन क्लब अफ पाकिस्तान (एसीपी) का अनुसार १० जना आरोहीको टोली आरोहणका क्रममा रहेका बेला बिहीबार मध्याह्नतिर हिमपहिरोमा परेको थियो। टोलीमा कीर्तिमानी आरोही निर्मल पुर्जा सहित ६ जना नेपाली, एक जना पाकिस्तानी, एक जना ओमानी, एक जना अमेरिकी र एक जना चिनियाँ नागरिक रहेका छन्। बेपत्ता नेपाली आरोहीमा पुर्जाका साथै किली पेम्बा शेर्पा, निमा शेर्पा, नवाङ थिन्दु शेर्पा र ग्यालु शेर्पा हुनुहुन्छ।
जिपिएस लोकेसनअनुसार हिमपहिरोले टोलीलाई करिब एक हजार मिटर तल बगाएर पुरेको अनुमान गरिएको छ। बेपत्ता आरोहीको खोजी तथा उद्धारका लागि पाकिस्तान सेनाका दुई वटा हेलिकोप्टरसहित विशेष टोली परिचालन गरिएको छ।
गिल्गित-बाल्टिस्तानका मुख्यमन्त्री अमजद हुसेन र पर्यटन मन्त्री नायकनाम करिमले घटनाप्रति दुःख व्यक्त गर्दै उपलब्ध सम्पूर्ण स्रोत-साधन प्रयोग गरी उद्धार कार्यलाई तीव्र बनाउन निर्देशन दिनुभएको छ।