नेपाल

पाकिस्तान हिमपहिरोमा परी गोरखाका आरोहण दलका सदस्य पुरबहादुरको मृत्यु

गोरखा । पाकिस्तानमा हिमाल आरोहणका क्रममा आएको हिमपहिरोमा परी गोरखाको धार्चे गाउँपालिका–४ लाप्राक निवासी अनुभवी पर्वतारोही एवं समाजसेवी पुरबहादुर गुरुङको निधन भएको छ। उहाँको निधनको खबरसँगै जन्मथलो लाप्राकसहित समग्र गोरखा जिल्ला नै शोकमा डुबेको छ।

नेपाली पर्वतारोहण क्षेत्रमा परिचित नाम ३८ वर्षीय गुरुङले विश्वको सर्वोच्च शिखर सगरमाथाको १० पटक तथा आठ हजार मिटरभन्दा अग्ला विभिन्न हिमाल २८ पटक सफलतापूर्वक आरोहण गरिसक्नुभएको थियो। लामो समयदेखि अन्तर्राष्ट्रिय हिमाल आरोहण अभियानमा सक्रिय रहँदै उहाँले नेपालको पर्वतारोहण क्षेत्रलाई विश्वसामु चिनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउनुभएको थियो।

पर्वतारोहणसँगै गुरुङ सामाजिक सेवामा पनि उत्तिकै समर्पित रहँदै आउनुभएको थियो। उहाँले लाप्राक तथा गोरखाका विपन्न, गरिब, अपाङ्गता भएका व्यक्ति, विद्यार्थी तथा विभिन्न सामाजिक संस्थालाई नियमित रूपमा सहयोग गर्दै आउनुभएको धार्चे–४ का वडाध्यक्ष किसान गुरुङले जानकारी दिनुभयो।

पारिवारिक स्रोतका अनुसार विगत एक महिनादेखि पाकिस्तानमा रहनुभएका गुरुङको बिहीबार बेलुकासम्म परिवारसँग सम्पर्क रहेको थियो।

नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनका प्रशासक शोभित कुँवरले हिमपहिरोमा परेका गुरुङको शव पहिचान भइसकेको र अब कानुनी प्रक्रिया पुरा गरी शव नेपाल ल्याउने तयारी भइरहेको बताउनुभयो।

उहाँको निधनको खबर सार्वजनिक भएसँगै लाप्राकमा शोकको वातावरण छाएको छ। स्थानीयवासीका अनुसार उहाँ केवल सफल पर्वतारोही मात्र नभई समाजप्रति उत्तरदायी र प्रेरणादायी व्यक्तित्व हुनुहुन्थ्यो। २०४५ सालमा बुबा धनबहादुर गुरुङ र आमा सोमनी गुरुङको कोखबाट जन्मनुभएका गुरुङका श्रीमती, बुबाआमा र एक छोरा हुनुहुन्छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्