एक्सक्लुसीभ

सप्तरीमा प्यास मेटाउँदै नेपाली सेना

सप्तरी । गर्मी बढ्दै जाँदा खानेपानीको चरम अभाव झेलिरहेको सप्तरीमा नेपाली सेनाले पिउने पानी वितरण गरेर जनतालाई राहत दिएको छ ।

मधेश प्रदेश सरकारको सहयोगमा बरखगणबाट खटिएको नेपाली सेनाले जिल्लाको विभिन्न पालिकामा अहिलेसम्म ६६ हजार पाँच सय लिटर शुद्ध खानेपानी वितरण गरिसकेको हो ।

बरखगण राजविराजका गणपति प्रमुख सेनानी सोवित बहादुर चन्दले अहिलेसम्म १७ हजार दुई सय ६४ घरधुरी शुद्ध खानेपानीबाट लाभान्वित भएको जानकारी दिनुभयो ।

जिल्लास्थित रुपनी र राजगढ गाउँपालिका तथा राजविराज र सुरुङ्गा नगरपालिकाको वडाहरुमा खानेपानीको चरम अभाव देखिएका १५ स्थानमा बरखगणको नेतृत्वमा दमकलबाट पानी वितरण गरिएको उहाँले बताउनुभयो ।

विगत डेढ महिना यता मनसुनको बेला सप्तरीमा वर्षा नभएका कारण आकाशे भरमा खेती गर्दै आएका किसान धान रोप्न सकेको छैन भने खडेरीका कारण जमिनमा जलस्तर घट्दै जाँदा ट्युववेलमा पानी आउन छोडेपछि खानेपानीको अभाव भएको हो ।

यस्तो सङ्कटको घडीमा नेपाली सेनाले अग्रमोर्चामा उभिएर दैनिक पाँच देखि १० हजार लिटर पिउने पानी वितरण गर्दै आएको छ ।

अहिले सम्ममा सबैभन्दा बढी रुपनी गाउँपालिकाको विभिन्न वडामा गरी ३४ हजार पाँच सय, राजगढमा १८ हजार, राजविराज नगरपालिकामा नौ हजार र सुरुङ्गामा पाँच हजार लिटर पानी वितरण गरिएको बरखगण राजविराजका प्रमुख सेनानी चन्दले जानकारी दिनुभयो ।

प्रदेश सरकारको सहयोगमा नेपाली सेनाले खानेपानी वितरणमा गरिरहेको सहयोग सकारात्मक भएको रुपनी गाउँपालिकाका अध्यक्ष दिनेशकुमार यादवले बताउनुभयो ।

उहाँले यहाँका बासिन्दाहरुलाई भोकभन्दा पहिले प्यासले सताउने बेला नेपाली सेनाले गरिरहेको खानेपानी वितरण कार्यले राहत मात्र पुर्‍याएको छैन, नागरिक सेवाको कार्यमा सेनालाई सुरक्षाकर्मी मात्र नभई सेवाकर्मीको रुपमा पनि स्थापित गराएको उहाँले तर्क गर्नुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.