पहिले गोरुबाट प्राप्त हुने गोबर खेतीको मुख्य जैविक मल थियो। अहिले गोरुको संख्या घट्दै जाँदा गोबर मलको अभाव हुन थालेको छ। फलस्वरूप किसान रासायनिक मलमा बढी निर्भर हुन बाध्य भएको जनसेवा महिला सहकारी संस्थाका व्यवस्थापक धनीचन्द मण्डलले बताउनुभयो।
विनय कर्ण, सप्तरी । असार लागेसँगै सप्तरीसहित मधेश प्रदेशका खेतमा धान रोपाइँको चटारो छ। कतै ट्याक्टरले खेत जोतिरहेका छन् भने कतै अझै पनि गोरु–हलोले माटो पल्टाइरहेको दृश्य देख्न सकिन्छ। तर यस्ता दृश्य अहिले अपवाद बन्दै गएका छन्।
परम्परागत रूपमा गोरुको प्रयोग गरी हलोले खेत जोत्ने चलन आधुनिक कृषि प्रविधिको विस्तारसँगै बिस्तारै लोप हुने अवस्थामा पुगेको छ।
सप्तरीको तिरहुत गाउँपालिका–४ का किसान राजकुमार यादव अहिले पनि गोरु–हलोको प्रयोग गरेर धान रोप्न खेत जोतिरहनुभएको छ। उहाँ भन्नुहुन्छ, “हलोले खेत जोत्न समय धेरै लाग्छ, मिहिनेत पनि बढी हुन्छ। तर यसरी जोतेको खेतमा माटो राम्रोसँग तयार हुन्छ र गोरु पाल्दा गोबर मल पनि पाइन्छ।”
एक समय गाउँका अधिकांश किसानले गोरु पालेर खेती गर्थे। प्रत्येक घरमा हलो, जुवा (हलो जोत्न प्रयोग हुने काठको उपकरण) र गोरु हुनु सामान्य मानिन्थ्यो। तर अहिले साना–ठुला ट्याक्टर सहज रूपमा उपलब्ध हुन थालेपछि किसान यान्त्रिक खेतीतर्फ आकर्षित हुँदै गएको रुपनी गाउँपालिका–४ का किसान रामरतन यादवले बताउनुभयो।
उहाँले भन्नुभयो, “केही घण्टामै धेरै क्षेत्रफलको खेत जोत्न सकिने भएकाले ट्याक्टर किसानको पहिलो रोजाइ बन्दै गएको छ।”
खेती सहज, जैविक मलमा ह्रास
कृषिमा यान्त्रिकीकरणले खेतीलाई सहज, छिटो र श्रम बचत गर्ने बनाएको छ। मजदुरको अभाव र समयको चापका कारण पनि किसान ट्याक्टरमा निर्भर बन्दै गएका छन्। तर यसको अर्को पाटो हेर्दा ट्याक्टरको प्रयोग बढेसँगै इन्धनको खपत बढेको छ। खेतीमा इन्धनमाथिको निर्भरता बढ्दा उत्पादन लागतसमेत बढिरहेको किसानहरू बताउँछन्।
ट्याक्टरको प्रयोग बढेसँगै गाउँमा हलो जोत्नकै लागि गोरु पाल्ने चलन पनि घट्दै गएको छ। गोरुको आवश्यकता कम भएपछि पशुपालनमा समेत ह्रास आएको छ। यसले खेती प्रणालीमा अर्को चुनौती थपेको छ।
पहिले गोरुबाट प्राप्त हुने गोबर खेतीको मुख्य जैविक मल थियो। अहिले गोरुको संख्या घट्दै जाँदा गोबर मलको अभाव हुन थालेको छ। फलस्वरूप किसान रासायनिक मलमा बढी निर्भर हुन बाध्य भएको जनसेवा महिला सहकारी संस्थाका व्यवस्थापक धनीचन्द मण्डलले बताउनुभयो।
रुपनी गाउँपालिका–४ मा मलखादको डिलर सञ्चालन गर्दै आउनुभएका मण्डलका अनुसार रासायनिक मलको अत्यधिक प्रयोगले माटोको उर्वराशक्ति घट्ने, जैविक गुण कमजोर हुने तथा उत्पादन प्रणालीमा नकारात्मक असर पर्ने जोखिम बढेको छ।
उहाँले भन्नुभयो, “आधुनिक प्रविधिको प्रयोग आवश्यक भए पनि परम्परा र प्रविधिबीच सन्तुलन कायम गर्नुपर्छ।”
हराउँदै कृषि संस्कृति
कृषिमा आधुनिक प्रविधिको प्रयोगसँगै परम्परागत कृषि संस्कृति पनि हराउँदै गएको छ। गाउँका खेतमा गोरुको घण्टीको आवाज र हलोले माटो चिरेको दृश्य अब विरलै देख्न पाइन्छ। आधुनिक प्रविधिले किसानको काम सहज बनाएको भए पनि त्यससँगै पुस्तौंदेखि चलिआएको कृषि संस्कृति, पशुपालन र जैविक खेतीको परम्परा भने विस्तारै हराउँदै गएको छ।
रुपनी गाउँपालिका–४ का ७८ वर्षीय विन्हाई खंग खेतीको आधुनिकीकरणसँगै परम्परागत कृषि ज्ञान र जैविक प्रणाली जोगाउनु आवश्यक रहेको बताउनुहुन्छ। जीवनभर गोरु–हलोबाट खेती गरेको अनुभव सुनाउँदै उहाँले जैविक खेती, गोबर मलको उपयोग र पशुपालनलाई सँगसँगै प्रवर्द्धन गर्न सके उत्पादन वृद्धि मात्र नभई वातावरण संरक्षण र दिगो कृषि प्रणालीको विकासमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। रासस