अर्थ

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन : राष्ट्र बैङ्क

पर्सा । नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले राष्ट्र बैंकले वित्तीय कारोबार गर्दा कालोसूचीमा पर्ने प्रावधानका विषयमा अध्ययन गरिरहेको बताउनुभएको छ ।

आज यहाँ आयोजित कार्यक्रममा उहाँले कालोसूचीमा राख्ने प्रावधानको विषयमा आफूले गम्भीरतापूर्वक अध्ययन गरिरहेको जानकारी दिनुभयो । ‘‘चेक ब्याउन्स हुने बित्तिकै कालोसूचीमा राख्ने विषयमा पनि हामीले अध्ययन गरिरहेका छौँ,’’ उहाँले भन्नुभयो, ‘‘कालोसूचीमा पर्नेहरूको सूची छोटो कसरी बनाउने विषयमा लागिरहेका छौँ । चेक बाउन्स र  बैङ्क तथा वित्तीय संस्थाबाट ऋण लिएका धेरै मानिस कालोसूचीमा पर्ने गरेको देखिएको छ,’’ उहाँले भन्नुभयो, ‘‘कालोसूचीमा राख्नुपर्ने कति हुन । कालोसूचीमा नराख्नुपर्ने कति हुन भन्ने विषयमा हामीले हेरिराखेका छौँ।

यसको बारेमा मैले विस्तृत रुपमा हेरिरहेको छु ।’’ गभर्नर पौडेलले धेरै कडाइ गरेर वा थुनेर मात्रै व्यापार÷व्यवसाय मात्रै नभएर मुलुक पनि नचल्ने पनि बताउनुभयो ।‘‘व्यवसाय भनेको कलेज पढाएर मात्रै पुग्ने रैन्छ । त्यो व्यापार हुनका लागि विभिन्न खालका हन्डर र ठक्कर खाएपछि मात्रै व्यवस्थित ढङ्गले अघि बढ्ने हुँदा पनि त्यसलाई व्यवस्थित गराउनेतर्फ अग्रसर हुन जरुरी छ,’’ उहाँले भन्नुभयो, ‘व्यवसायीलाई गाली गरेर मात्रै मुलुकको विकास नहुनेतर्फ पनि ध्यान दिन जरुरी छ । त्यसैले व्यवसायीलाई प्रवद्र्धन गरेर अघि बढाउन जरुरी छ ।’’ गभर्नर पौडेलले व्यवसाय गर्न खोज्नेले एक पटक गल्ती गर्दैमा दुःख दिन नहुने बताउनुभयो ।

फरक प्रसङ्गमा गभर्नर पौडेलले डिजिटल प्रविधिमा आधारित सूचना प्रविधि उद्योगलाई प्रोत्साहन गर्ने नीति अङ्गिकार गर्दै आइरहेको बताउनुभएको छ । उहाँले भविष्यमा ठूलो सम्भावना बोकेको क्षेत्र भएकाले पनि सूचना प्रविधि क्षेत्रलाई प्रथामिकतामा राख्दै आइरहेको बताउनुभयो ।

‘‘भविष्यमा पनि सूचना प्रविधि उद्योगहरू धेरै वृद्धि हुन्छ भन्ने अपेक्षा राखेका छौँ,’’ उहाँले भन्नुभयो,‘‘हामीले बैङ्क तथा वित्तीय संस्थालाई पनि डिजिटलाइजेसनतर्फ अघि बढ्नका लागि अनुरोध गर्दै आइरहेका छौँ ।’’ गभर्नर पौडेलले विगतमा वीरगञ्जमा फोटो स्टुडियो र गाडीको वक्र्ससप तथा ग्यारेज सेन्टरहरू पर्याप्त भए पनि अहिले तिनीहरू क्रमशः कम हुँदै गइरहेको पनि बताउनुभयो ।

‘‘अहिले धेरैजसो व्यवसाय डिजिटल प्लेटफर्ममा अघि बढिरहेका छन् । त्यसैले अब उद्यमी तथा व्यवसायले नयाँतर्फ पनि आफूलाई परिवर्तन गर्दै लैजान जरुरी भइसकेको छ,’’ उहाँले भन्नुभयो,‘‘ समयानुकूल आफ्नो व्यवसायको डिजिटल रणनीति तयार पारेर अघि बढ्नुपर्ने बेला भइसकेको छ । पक्कै पनि यहाँहरूले सोतर्फ ध्यान दिइरहनुभएकै होला ।’’

नेपालका आइटी कम्पनीलाई विदेशी मुलुकमा लगानी गर्नका लागि पनि सहज वातावरण बनाउँदै आइरहेको दाबी गर्नुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्