नेपाल

नारायणीको जलसतह हालसम्मकै उच्च

चितवन । नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको छ । 

देवघाटस्थित जलमापन केन्द्रमा मापन गरिएको उक्त जलसतह जलमापन गर्न थालेपछि हालसम्मकै उच्च रहेको नारायणी बेसिन फिल्ड कार्यालय भरतपुरले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो २ः१० बजे नारायणीको जलसतह ११ दशमलव ९४ मिटर पुगेको थियो । यहाँ सात दशमलव ३० मिटरलाई चेतावनी तह र नौ मिटरलाई खतराको तह मानिन्छ । पछिल्लो मापनअनुसार दिउँसो ३ः४० बजे नदीको जलसतह ११ दशमलव ७५ मिटरमा झरेको छ । नदीको जलसतह घट्दो क्रममा रहे पनि खतराको तहभन्दा निकै माथि छ ।

नारायणी बेसिन फिल्ड कार्यालयका प्रमुख हाइड्रोलोजिस्ट इञ्जिनियर सुमित अधिकारीका अनुसार नारायणीमा जलमापन गर्न थालेपछिकै हालसम्मको उच्च जलसतह आज मापन भएको हो । पहाडी क्षेत्रमा वर्षा भइरहेकाले नदीको जलसतहमा थप उतारचढाव आउन सक्ने उहाँले बताउनुभयो ।

कार्यालयका अभिलेखअनुसार विसं २०८१ असोज १२ गते नारायणी नदीमा उच्चतम जलसतह ११ दशमलव छ मिटर पुगेको थियो  ।

विसं २०८० साउन २९ गते आठ दशमलव ३३ मिटर, विसं २०७९ असोज २० गते नौ दशमलव ५२ मिटर र विसं २०७८ असार २ गते १० दशमलव ५० मिटर उच्चतम जलसतह मापन गरिएको अभिलेखमा उल्लेख छ । उहाँका अनुसार देवघाटमा सन् १९६३ देखि जलमापन गर्न थालिएको हो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्