नेपाल

पाल्पामा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो

पाल्पा । पाल्पामा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईका अनुसार पहिरोमा परी बेपत्ता भएका माथागढी गाउँपालिका–३ कसेनी भैसीकट्टाका ७५ वर्षीय लिलबहादुर घर्तीमगर, उहाँकी १७ वर्षिया छोरी दिना घर्ती र छिमेकी  मोतिलाल घर्तीकी १५ वर्षिया छोरी झरना घर्तीको शव भेटिएको हो ।

यसअघि आज बिहान पहिरोमा परी माथागढी गाउँपालिका–२ रुप्से रजौलीका ७५ वर्षीय शेरबहादुर चिदी र रिब्दीकोट गाउँपालिका–६ ठिमुरे धुस्तुङकी ५९ वर्षीया कृष्णकुमारी सारुको मृत्यु भएको थियो ।

चिदीलाई घाइते अवस्थामा उद्धार गरी जिल्ला अस्पताल पाल्पामा लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए भने सारुको पहिरोमा पुरिएको अवस्थामा शव निकालिएको हो ।

निरन्तरको वर्षासँगै आज बिहान झरेको पहिरोले लिलबहादुर घर्तीमगरको घर पूर्ण रूपमा पुरिएको थियो । घरमा सुतिरहेका बेला पहिरोले पुरिँदा उहाँहरू बेपत्ता हुनुभएको थियो । सुरक्षाकर्मी र स्थानीयवासीको प्रयासमा उद्धार टोलीले पहिरोबाट तीन जनाको शव निकालेको हो । मृत पाँचै जनाको पोष्टमार्टमका लागि जिल्ला अस्पताल पाल्पामा शव राखिएको प्रहरी नायब उपरीक्षक भट्टराईले जानकारी दिनुभयो । रासस

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्