नेपाल

अविरल वर्षासँगैको बाढी, पहिरो तथा डुबानबाट देशभर २१ जनाको मृत्यु

काठमाडौँ । बिहीबारदेखिको अविरल वर्षासँगैको बाढी, पहिरो तथा डुबानबाट देशभरमा २१ जनाको मृत्यु भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज साँझसम्म विपद्मा परी पाँच जना बेपत्ता र पाँच जना घाइते भएका छन् ।

बाढीपहिरोबाट ७४७ परिवार प्रत्यक्ष प्रभावित भएका छन् । बङ्गालको खाडीमा उत्पन्न न्यूनचापीय प्रणालीका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न भागमा भारीदेखि अतिभारी वर्षा भएको थियो । पछिल्लो चार दिनमा बाढी र पहिरोको जोखिममा रहेका प्रभावित जिल्लाका करिब दुई हजार नागरिकलाई सुरक्षित स्थानमा सारिएको प्राधिकरणले जनाएको छ ।

उद्धार गरिएका व्यक्तिका लागि सम्बन्धित जिल्ला प्रशासनको समन्वयमा स्थानीय तहमार्फत आवश्यक बन्दोबस्ती तथा राहतको व्यवस्था गरिएको छ । जाजरकोट, म्याग्दी, बागलुङलगायत जिल्लामा हेलिकप्टरमार्फत बाढी र पहिरोमा फसेका व्यक्तिको उद्धार गरिएको प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो । विपद्बाट १४३ घर पूर्ण र ५१ घर आंशिक क्षति भएका छन् ।

प्राधिकरणबाट विपद्को पूर्वतयारी स्वरूप अग्रपङ्क्तिमा खटिनेसहितलाई पाँच हजारभन्दा बढी र बाढी पूर्वानुमान महाशाखाबाट सम्भावित बाढी प्रभावित स्थानय बासिन्दालाई आठ लाख १४ हजार वटा एसएमएस पठाइएको प्राधिकरणले जनाएको छ ।

चार दिनमा देशभरका १८६ स्टेसनमा १०० मिलिमिटरभन्दा बढी कुल वर्षा मापन भएको छ । सबैभन्दा बढी नवलपरासी ९बर्दघाट सुस्तापूर्व०को डेढगाउँमा ५४४ दशमलव दुई मिलिमिटर वर्षा मापन भएको छ । त्यस्तै कास्कीको पञ्चासेमा ५०० दशमलव दुई मिलिमिटर र तनहुँको अत्रौलीटारमा ४७२ मिलिमिटर वर्षा भएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्