एक्सक्लुसीभ

काठमाडौँको माइतीघर लगायतका स्थानमा  प्रदर्शन गर्न रोक

काठमाडौँ, ।  जिल्ला प्रशासन कार्यालय काठमाडौँले माइतीघर लगायतका स्थानमा र्‍याली, धर्ना, प्रदर्शनका लागि अनुमति नदिने निर्णय गरेको छ । भदौ २३ र २४ गते जेनजी आन्दोलनपछि उत्पन्न शान्ति सुरक्षाको अवस्थालाई ध्यानमा राखी जिल्ला प्रशासन कार्यालयले शान्तिपूर्ण धर्ना, जुलुससमेत गर्न अनुमति नदिने निर्णय गरेको हो ।

पछिल्लो समय केही जेनजी युवा र विभिन्न पार्टीका भ्रातृ सङ्गठनले एकपछि अर्को गरी धर्ना तथा प्रदर्शन गर्ने तयारी गरिरहेका छन् । यस्ता शान्तिपूर्ण कार्यक्रममा अवाञ्छित व्यक्तिको घुसपैठ भई थप अराजकता निम्तिन सक्ने भन्दै सुरक्षा निकायले सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा जारी विज्ञप्तिमा शान्ति सुरक्षामा चुनौती थपिन सक्ने अवस्थालाई ध्यानमा राखेर अहिले कसैलाई पनि र्‍याली, जुलुस, धर्ना गर्न नदिने निर्णय गरिएको उल्लेख गरिएको छ । शनिबार फरक फरक समूहले काठमाडौँ जिल्लाका विभिन्न स्थानमा मोटरसाइकल र्‍याली तथा सभा गर्ने भनी प्रचारप्रसार भएपछि जिप्रका काठमाडौँले शुक्रबार सूचना जारी गरी र्‍याली, धर्ना, जुलुसमा रोक लगाएको हो  ।

काठमाडौँ प्रशासनले भदौ २३ गते गतेको जेनजी आन्दोलनपछिका दिनमा भएको तोडफोड, आगजनी तथा सार्वजनिक र निजी सम्पत्तिमा भएको क्षतिसमेतका घटना हुन पुगेको सबैलाई विदितै रहेको बताउँदै शान्ति सुरक्षाको स्थिति बनाइराख्न, सार्वजनिक सम्पत्तिको संरक्षण गर्दै सेवा प्रवाह सञ्चालन गर्ने कार्यमा सहयोग गर्न पनि आग्रह गरेको छ ।

काठमाडौँ प्रशासनले कुनै पनि र्‍याली, प्रदर्शन जस्ता कार्यक्रम गर्न कोही कसैलाई पनि स्वीकृति प्रदान नगर्ने भनी स्पष्ट पारेको  छ । साथै पूर्वस्वीकृतिबिना कुनै पनि प्रकारका कार्यक्रम नगर्न नगराउनु हुन स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ को देहाय खण्ड (क) र प्रहरी ऐन, २०१२ को दफा १९ को व्यवस्थाबमोजिमको सूचना सम्बद्ध सबैलाई जानकारीका लागि जारी गरेको छ ।

युवा सङ्घको माग 

यसैबिच नेपाल कम्युनिस्ट पार्टी (एमाले) को भ्रातृ सङ्गठन युवा सङ्घ नेपालले आइतबार गर्ने भनेको मोटरसाइकल ¥याली गर्ने वातावरण बनाउन सरकारसँग माग गरेको छ ।

शनिबार मोटरसाइकल र्‍ याली आयोजना गर्ने भनिएको कार्यक्रमका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौँबाट स्वीकृति प्राप्त नभएपछि युवा सङ्घले शुक्रबार साँझ पत्रकार सम्मेलन आयोजना गरी आइतबार र्‍याली गर्ने वातावरण बनाउन माग गरेको हो ।

युवा सङ्घका अध्यक्ष क्षितिज थेबेले पछिल्लो राजनीतिक परिस्थितिप्रति गम्भीर एवं जिम्मेवारीबोध भएको भन्दै आमजनता त्रसित भएको र अन्योलको वातावरण सिर्जना भएको बताउनुभयो । उहाँले जेनजी आन्दोलनलाई काँधमा राखेर गलत समूहले फाइदा उठाउन खोजेको धारणा राख्दै परिवर्तनको पक्षमा रहेका जेनजीलाई मार्गनिर्देश गर्न युवा सङ्घ सक्षम रहेको दाबी गर्नुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.