नेपाल
बागलुङमा पहिरोमा पुरिएर तीन छोरासहित आमाको मृत्यु
बागलुङ। बागलुङको निशीखोला गाउँपालिका–३, धारखर्कमा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईंका अनुसार मृत्यु हुनेमा ३६ वर्षीया श्यामकुमारी विक, उनका १३ वर्षीय छोरा मनोज विक, ८ वर्षीय छोरा मुकेश विक र ३ वर्षीय छोरा निशन विक रहेका छन् ।
प्रहरी उपरीक्षक प्रसाइँका अनुसार घरमा सुतिरहेको अवस्थामा पहिरो खसेपछि उहाँहरू पुरिनुभएको थियो । घटनामा मृत्यु भएकाहरूको शव पोस्टमार्टमका लागि अस्पताल लैजाने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।
पहिरोका कारण विद्युत् सेवासमेत अवरुद्ध भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान सुरू गरिएको प्रहरीको भनाइ छ ।