एक्सक्लुसीभ

नारायणी नदीको बाढी बस्तीमा पस्दा सुस्ताका अधिकांश घर डुबानमा

“हामीले सबै सुस्तावासी नागरिकहरूलाई सुस्ता वारीका सुरक्षित स्थाका विद्यालयहरूमा स्थानान्तरण गर्ने प्रयास गरिरहेका छौँ । तर अधिकांश सुस्तावासी आफ्नो घरगाउँ छाडेर वारि आउन नमान्दा समस्या उत्पन्न भएको छ,”

नवलपरासी । लगातार परेको अविरल वर्षाका कारण नारायणी नदीमा आएको बाढी बस्तीमा पस्दा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्तामा रहेका कुल ३११ घरधुरीमध्ये अधिकांश घरहरू डुबानमा परेका छन् ।

स्थानीय मुन्सी हरिजनका अनुसार बाढीको प्रभाव सबैभन्दा बढी थारु टोलबाट सुरु भई सैनिक टोल, पहाडिया टोल हुँदै बड्का टोलसम्म फैलिएको छ । थारु टोलमा मात्रै १० देखि ११ वटा घरहरू ढलिसकेका छन् भने बड्का टोलका कच्ची घरहरू र रूखहरू ढल्ने क्रम जारी छ । सुस्ता बस्ती नै जलमग्न बनेको छ ।

डुबानमा विद्यालय, स्वास्थ्य चौकी, प्रहरी चौकी तथा सशस्त्र प्रहरी बल (एपीएफ)को बीओपी समेत जलमग्न भएको छ । नारायणीको भेग र कटानका कारण तटबन्धको माटो बगेर कमजोर बनेकाले बाँध नै फुट्ने जोखिम सिर्जना भएको छ ।

पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) दीपकराज नेपालका अनुसार जोखिममा परेका सबै सुस्तावासीलाई सकभर सुस्ता वारी ल्याएर सुरक्षित आश्रयस्थलहरूमा राख्नका लागि सुरक्षा निकाय पूर्ण रूपमा तयार भई खटिएका छन् ।

उहाँका अनुसार सुस्तावासीलाई सुरक्षित रूपमा उद्धार गरी वारि ल्याउनका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त उद्धार टोली सुस्ता पुगिसकेको छ। उद्धार टोलीले निरन्तर रूपमा प्रभावित क्षेत्रमा पुगेर नागरिकहरूलाई सुरक्षित स्थानमा ल्याउने कार्य गरिरहेको छ।

“हामीले सबै सुस्तावासी नागरिकहरूलाई सुस्ता वारीका सुरक्षित स्थाका विद्यालयहरूमा स्थानान्तरण गर्ने प्रयास गरिरहेका छौँ । तर अधिकांश सुस्तावासी आफ्नो घरगाउँ छाडेर वारि आउन नमान्दा समस्या उत्पन्न भएको छ,” प्रमुख जिल्ला अधिकारी नेपालले भन्नुभयो ।

स्थानीय प्रशासनले झोलुङ्गे पुल र डुंगाको माध्यमबाट नागरिकहरूलाई सुरक्षित स्थानमा लगिरहेको जनाएको छ । हाल प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली खटिएर थप जोखिममा रहेका परिवारको उद्धार गरिरहेको छ ।

जोखिममा परेका ७५ घरपरिवारलाई उद्धार गरी सुस्तास्थित होल्डिङ सेन्टरमा लगिएको छ भने हाल त्यहाँ करिब चार सय जनाले आश्रय लिइरहेका छन् । सैनिक टोलका बाँकी बासिन्दाहरू पक्की घर र बड्का टोलतिर आश्रय लिएर बसेका छन् ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्