देशभरका आठ राजमार्ग बन्द, यो महिनाभित्र कृष्णभिरमा सवारी सुचारु हुने अपेक्षा
काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशीमा अप्रत्याशित बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायत विभिन्न जिल्लाका सडकको आवागमनमा अवरोध छ ।
नेपाल प्रहरीका अनुसार आइतबार साँझसम्म रसुवा जिल्ला अन्तर्गत बाढीका कारण उत्तरगया गाउँपालिका वडा नंं ५ खाल्टेस्थित त्रिशुली मैलुङ स्याफ्रुबेशी सडक खण्ड पूर्णरुपमा अवरुद्ध छ । यो सडक लामो समयसम्म अवरुद्ध रहने जनाइएको छ । रसुवाका सबै मुख्य राजमार्ग अर्को सूचना जारी नभएसम्म पूर्णरुपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।
रसुवाका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले रसुवामा नौकुण्ड क्षेत्रमा वैकल्पिक बाटो सञ्चालनमा रहे पनि सो बाटो निकै जोखिमपूर्ण रहेको बताउनुभयो । रसुवामा कतिपय स्थानमा काठेपुल त, कतिपय स्थानमा तुइन राखेर तत्कालका लागि आवतजावतको व्यवस्था मिलाइएको छ ।
उहाँले बेत्रावति र स्याफ्रु सडक जोडिएको खण्डमा रसुवामा आवतजावत सहज हुने बताउनुभयो । पाण्डेले भन्नुभयो, “खासमा बेत्रावति र स्याफ्रु जोडियो भने अलि राम्रो हुन्छ । सबै सडकहरु जोडिने आधार तय हुँदैआएका छन् ।
नुवाकोटमा सम्भावित बाढी, पहिरोका कारण शिवपुरी गाउँपालिका – ८ घट्टेखोलास्थित टोखा छहरे सडक खण्ड भदौ १ गतेदेखि अर्को सूचना जारी नभएसम्म बिहान ५ बजेसम्म बन्द छ । बाढीका कारण नुवाकोटको विदुर नगरपालिका–१० सिमटारस्थित पासाङ ल्हामु सडक खण्ड अर्को सूचना जारी नभएसम्म पूर्णरुपमा अवरुद्ध रहने प्रहरीले जनाएको छ । बाढीपछि नुवाकोटमा नदी त्रिसुली पारीका क्षेत्रमा सडक सम्पर्क टुटेको छ ।
नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईले तत्कालको कनेक्टिभिटीका लागि विद्युत्, टेलिकम्युनिकेसन लगायतको व्यवस्थापन गरिएको जानकारी दिनुभयो । हुमागाई भन्नुहुन्छ, “खोला वारी, खोला पारी जान आउन, आफन्त भेट्न केही स्थानमा तत्कालका लागि तुइन पनि स्थापना गरिएको छ ।
नुवाकोटको हकमा त्रिशुली वारी करिब–करिब यातायतको कनेक्टिभिटी लगभग सञ्चालनमा आएको छ । रसुवातर्फको लागि आधा घण्टाको बाटो आठ, नौ घण्टा लाग्ने अवस्था छ । गल्छी, त्रिसुली, मैलुङ, स्याफ्रुबेँसी, रसुवागढीसम्म जोड्ने त्रिदेशीय राजमार्ग क्षतविच्छेद भएको अवस्था छ ।” सडक सम्पर्क छुटेको रसुवा क्षेत्रमा खाद्यन्न अभावको समस्या समेत बढ्ने अनुमान गरिएको उहाँको भनाइ छ ।
धादिङ जिल्ला अन्तर्गत पहिरोका कारण बेनिघाट रोराङ गाउँपालिका–१० कृष्णभिरस्थित पृथ्वीलोकमार्ग पूर्णरुपमा अवरोध छ भने ज्वाङखोलास्थित पृथ्वीलोकमार्ग र बेनिघाट रोराङ गाउँपालिका शितलबजारस्थित पृथ्वीलोकमार्ग एकतर्फी सुचारु भएको छ । धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमले भदौ १० र भदौ १४ गते आएको बाढीका कारण सडकहरु अवरुद्ध भएको भन्नुहुँदै पृथ्वीराजमार्ग अवरुद्ध भएको बताउनुभयो ।
गौतमले भन्नुभयो, “भदौ १० को बाढीपछि लेदोहरु सोरेर बाटो मर्मत गरेर हामीले वान–वे सवारी साधन चलाइराखेका थियौं । भदौ १४ गतेको बाढीले गर्दा कृष्णभिरमा पूर्ण क्षति भयो । जसकारण कृष्णभिरमा सवारी आवागमन पूर्णरुपमा बन्द छ ।”
प्राविधिक जनशक्तिले कृष्णभिर क्षेत्रको सडक अवलोकन एवम् अध्ययनपछि आइतबार त्यस क्षेत्रमा रोकिएका केही सवारी साधन परीक्षणका लागि पठाइएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, “ट्रयाक खोल्ने काम लगभग अन्तिम चरणमा पुगेको छ । आज हामीले त्यहाँ होल्डिङ भएका सवारी साधन, ट्रक, बसहरु, परीक्षणको लागि एकछिन चलायौं । भोलि र पर्सी दुइ दिन नाली खोल्ने लगायतको केही काम बाँकी भएको हुँदा अब दुई दिन पूर्णरुपले बन्द गराएर यो महिनाको अन्तिममा पूर्णरुपमा दुईतर्फी सवारी साधन खुल्ने गरी काम भइरहेको छ ।” उहाँले थप क्षति नभए यो महिनाको अन्तिमसम्म कृषभिरमा दुईतर्फी सवारी साधन खुल्ने बताउनुभएको हो ।
चितवनमा सडक मर्मतका कारण स्थगित भएको नारायणगढ–मुग्लिन गाडीको चाप हेरी एकतर्फी सुचारु भएको छ । सिन्धुपाल्चोकमा पहिरोका कारण भोटेकोशी गाउँपालिका–२ घट्टेखोलास्थित अरनिको राजमार्ग पूर्णरुपमा अवरुद्ध छ । काभ्रेमा सम्भावित बाढीका कारण भदौ १६ गतेदेखि अर्को सूचना जारी नभएसम्म खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी बीपी राजमार्र्गमा चल्ने सम्पुर्ण सवारी साधनहरुमा अवरोध छ ।
बीपी राजमार्गमा भदौ १६ गते साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म अर्को सूचना नभएसम्म दश टनसम्म्को मालवाहक सवारी साधनहरु सञ्चालन हुने र बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म परिस्थितिको विचार गरी सवारी साधनहरु सुचारु हुने जनाइएको छ ।
कोशी प्रदेश अन्तर्गत पाँचथरमा पहिरोका कारण फालेलुङ गाउँपालिका–९ आकाशेभन्ज्याङस्थित फिदिम फालोट सडक खण्ड पूर्णरुवमा अवरुद्ध छ । गण्डकी प्रदेश अन्तर्गत मनाङमा बाटो निर्माणका कारण नासो गाउँपालिका – ३ धारापानीस्थित चामे–बेसिशहर सडकखण्डमा सानो सवारी साधन सुचारु भएको छ ।