नेपाल

म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी । म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको छ भने तीन जना बेपत्ता भएका छन् । 

अन्नपूर्ण गाउँपालिकामा चार जना र मालिका गाउँपालिकामा दुई जनाको शव भेटिएको छ ।

म्याग्दीका प्रहरी नायब उपरीक्षक राजन कार्कीले बेनी नगरपालिकामा एक जना र अन्नपूर्ण गाउँपालिकामा दुई जना बेपत्ता भएका बताउनुभयो । पहिरोमा पुरिएका अन्नपूर्ण गाउँपालिका–५ गिवाङकी ७५ वर्षीया सिउकुमारी गर्बुजा, ५६ वर्षीया दोमाया गर्बुजा र पाँच वर्षीया जेनी पुुनको शव भेटिएको उहाँले बताउनुभयो ।

प्रहरी नायब उपरीक्षक कार्कीका अनुसार मालिका गाउँपालिका–३ औलामा किरन पुन र देव बहादुर पुनको पहिरोमा पुरिएर मृत्यु भएको छ ।

अन्नपूर्ण गाउँपालिका–८ काफलडाडाका १९ वर्षीय सविन चोचाङ्गीको शव भेटिएको र २२ वर्षीय मनोज गर्बुजा बेपत्ता रहेका म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले बताउनुभयो ।

उहाँका अनुसार पहिरोमा परि बेपत्ता भएका बेनी नगरपालिका–३ भकिम्ली छेपारेका ३६ वर्षीया कुमारी वली विक र अन्नपूर्ण गाउँपालिका–३ फगामकी युमाया पाईजा बेपत्ता भएका छन् ।

पहिरोको जोखिममा रहेको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका ७८ जनालाई नेपाली सेनाको हेलिकप्टर मार्फत शिखघारमा ल्याएर सुरक्षित ठाउँमा बसोबासको व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले जानकारी दिनुभयो । अस्थायी शिवरमा राहत सामग्रीको पनि व्यवस्था मिलाइएको छ । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्र भएका, विद्युत्, सञ्चार, सडक अवरुद्ध भएकाले घटनास्थलबाट जानकारी प्राप्त हुन, सुरक्षाकर्मी पुग्न, उद्धार, बेपत्ताको खोजीमा ढिलाइ भएको प्रजिअ गैरेले बताउनुभयो ।

चार दिनको लगातारको झरिका कारण बाढी पहिरोले म्याग्दीमा विद्युत्, सडक र सञ्चार सुविधा अवरुद्ध बनेको छ । बेनी–जोमसोम, बेनी–दरवाङ, बेनी–पाखापानी, बेनी–बागलुङ सडक अवरुद्ध भएका छन् । पर्वतको मालढुङ्गा स्थित कालीगण्डकी नदीमा रहेको सडक पुलको पहुँचमार्ग, सहश्रधारामा सडक कटान भएकाले म्याग्दी, बागलुङ र मुस्ताङको पोखरा–काठमाडौँ लगायत सहरसँग यातायात सम्पर्क बिच्छेद भएको छ ।

आज दिउँसोदेखि वर्षा रोकिएको र नदीहरूमा बाढीको सतह घटेको बताउँदै प्रजिअ गैरेले सडक, विद्युत् र सञ्चार सुविधा सञ्चालनका लागि पहल भइरहेको जानकारी दिनुभयो ।  रासस

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्