भदौ १९ देखि प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’
काठमाडौं । पारिवारिक कथावस्तुमा आधारित नेपाली चलचित्र ‘बा एक योद्धा’ आगामी भदौ १९ गते (सेप्टेम्बर ४) देखि नेपालसहित विश्वभरका विभिन्न मुलुकमा एकसाथ प्रदर्शनमा आउनेभएको छ।
आर्टिस्टिक इन्टरटेन्मेन्टको ब्यानरमा बसन्त लम्सालले निर्माण गरेको यो चलचित्र कृष्ण जन्माष्टमीको अवसर पारेर प्रदर्शनमा ल्याउन लागिएको हो। निर्माता लम्सालका अनुसार चलचित्रले आफ्ना सन्तानको खुसी र उज्ज्वल भविष्यका लागि जीवनभर संघर्ष गर्ने एक बुवाको त्याग, जिम्मेवारी, माया र संवेदनशील यात्रालाई केन्द्रमा राखेको छ।
निर्माता लम्सालले दर्शकलाई मनोरञ्जनसँगै भावनात्मक अनुभूति दिने उद्देश्यले चलचित्र तयार पारिएको बताउनुभयो। उहाँका अनुसार परिवारका सबै सदस्यले सँगै बसेर हेर्न सक्ने चलचित्र निर्माण गर्ने प्रयास गरिएको छ । यसले दर्शकको मन छुने विश्वास निर्माण टिमले लिएको छ।
चलचित्रको निर्देशन हरि लम्सालले गर्नुभएको छ । कथा र पटकथा समेत उहाँले तयार पार्नुभएको हो । डा. कृष्णहरि बराल, डा. राजुबाबु श्रेष्ठ र सञ्जीव थापाका शब्दमा हरि लम्सालकै संगीत सुन्न सकिनेछ। शिवराम श्रेष्ठको छायांकन रहेको चलचित्रलाई मित्र डी. गुरुङले सम्पादन गर्नुभएको छ । कार्यकारी निर्माता अनिल बुढाथोकी, लाइन प्रोड्युसर अर्जुन पौडेल तथा सह–निर्माता कृष्ण काफ्ले रहेका छन्।
चलचित्रमा दिव्यदेव पन्तले बुवाको मुख्य भूमिकालाई जीवन्त बनाउनुभएको छ । झरना थापा आमाको भूमिकामा देखिनुभएको छ । सुहाना थापाले छोरीको पात्र निर्वाह गरेकी छन्। यस्तै, सागर खनाल र सुप्रज्ञा शर्माले छोरा र बुहारीको भूमिकामार्फत पारिवारिक सम्बन्धका उतारचढावलाई प्रभावकारी रूपमा पर्दामा उतारेका छन्।
यसका अतिरिक्त शिशिर शिवाकोटी, अनिल बुढाथोकी, माउत्से गुरुङ, सबी थापा, चन्द्र नेपाल, कृष्णप्रसाद ढुंगाना, अञ्जन ढकाल र करण शाहलगायत कलाकारको अभिनय रहेको चलचित्रमा अभिनेत्री केकी अधिकारी विशेष भूमिकामा अभिनय गर्नुभएको छ । करिब २ करोड ७५ लाख रुपियाँको लागतमा निर्माण गरिएको चलचित्रको छायांकन काठमाडौं र काभ्रेको ऐतिहासिक तथा पर्यटकीय नगर पनौतीका विभिन्न स्थानमा गरिएको छ । समाजसेवामा संलग्न लम्सालका लागि ‘बा एक योद्धा’ निर्माणको हिसाबले दोस्रो चलचित्र हो।