मनोरंजन

कौसी थिएटरमा शुक्रबारदेखि मायाप्रेममा रुमलिएको कथा ‘जोलिन’ मञ्चन 

नाटकले असुरक्षाबाट हिंसातर्फ, तृष्णाबाट स्वामित्वको भावनातर्फ र प्रेम पाउने चाहनाबाट त्यसको बन्धनबाट उम्कन नसक्ने पीडासम्मको नाजुक रूपान्तरणलाई पछ्याउँछ ।

काठमाडौँ, । कथा घेराको कौसी थिएटर, टेकुमा शुक्रबारदेखि नयाँ नाटक ‘जोलिन’ को मञ्चन भैरहेको छ । प्रेमका विविध आयामलाई प्रस्तुत गर्दै प्रेमले कसरी आश्रय र कैद गर्छ भन्ने कुरालाई केन्द्रमा राखेर नाटकको कथा बुनिएको छ । नाटकभित्र रहस्य तथा लोककथा र परिकथा तत्व मिश्रित छ । 

प्रेम नाटकको मुख्य विषय हो । नाटकले प्रेमको सबैभन्दा चरम अवस्थाको असहज र गहिरो चित्र प्रस्तुत गर्ने नाटकका निर्देशक रिसवले बताउनुभयो । उहाँका अनुसार प्रेमको उन्माद, तृष्णा र आफूलाई नै पूर्ण रूपमा मेटाइदिन सक्ने यसको निर्मम क्षमता नाटकभित्र प्रस्तुत गर्न खोजिएको छ । नाटकको प्रमुख भूमिकामा हुनुहुन्छ मिरा । मिरा एक गृहिणी, जसको आफ्नै अस्तित्वको अनुभूति छ । उहाँ श्रीमान् माधवसँग पूर्ण रूपमा समर्पित हुनुहुन्छ । माधवप्रतिको उहाँको समर्पण निःसर्त र अटल छ तर माधवको जोलिनसँगको प्रेम सम्बन्धको खुलासाले उनीहरूको बाहिरबाट सामान्य देखिए पनि जीवनभित्र लुकेको अँध्यारो र भयावह पक्ष भने भिन्न देखिन्छ ।

एकातिर मिरासँगको घरेलु स्थायित्व र सुरक्षित सम्बन्ध, अर्कोतिर जोलिनसँगको रहस्यमय प्रेमको आकर्षण । यी दुईबिच माधव निरन्तर प्रतिबद्धता र चाहनाको द्वन्द्वमा अल्झिरहन्छन् । जोलिन केवल उनीहरूको जीवनमा आएको एउटा व्यवधान मात्र होइनन्, उनीहरूले सावधानीपूर्वक जोगाएर राखेको संसारमुनि दबिएका विरोधाभास र नाजुक सत्यलाई सतहमा ल्याउने शक्ति पनि हुनुहुन्छ । अन्ततः त्यो संसार पागलपन र हत्यासम्म पुगेर पूर्ण रूपमा भत्किन्छ ।

यिनै विक्षिप्त घटनाको अनुसन्धानको जिम्मा लिन्छ राष्ट्र प्रहरी माया विभागले । जुन प्रेम र आवेगबाट प्रेरित अपराधको अनुसन्धान गर्ने प्रहरीको एउटा अनौठो शाखा हो । गीत र नृत्यमार्फत माया विभागले कथाको भित्री तर्क र मनोविज्ञानलाई उजागर गर्ने काम गरेको छ । दुवै पात्रको अन्तरमनलाई कहिले अतिरञ्जित गर्छन्, कहिले निन्दा गर्छन्, त कहिले व्यङ्ग्य । पात्रले मनभित्र दबाएर राखेको भावना गीतमार्फत व्यक्त पनि गर्दछ ।

मेलोड्रामा, त्रासदी, सङ्गीतमय रङ्गमञ्च, भय तथा लोककथा र परीकथाको जादुइ संसारलाई एकसाथ मिसाउँदै जोलिनले प्रेमलाई एकैसाथ आश्रय र कारागारका रूपमा निष्ठुर तर अत्यन्त संवेदनशील दृष्टिले हेर्छ । नाटकले असुरक्षाबाट हिंसातर्फ, तृष्णाबाट स्वामित्वको भावनातर्फ र प्रेम पाउने चाहनाबाट त्यसको बन्धनबाट उम्कन नसक्ने पीडासम्मको नाजुक रूपान्तरणलाई पछ्याउँछ ।

अन्ततः नाटकले एउटा प्रश्न उठाउँछ । मायामा कसको के काबु ? नाटकमा मिरा खड्का, अनोज पाण्डे, निशान खत्री, जीवन गौतम, ऋषिकेश बस्याल, निशान्त महत र प्रकृति कार्कीको अभिनय रहेको छ । नाटक साउन २९ गतेसम्म मञ्चन हुने छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्