छोडपत्र
कति प्रयोग गरेँ तिमीलाई
उपयोग तिमीलाई कति गरेँ
भन्न सक्दिनँ, तर
दुरुपयोग गरेको चाहिँ बुझेको छु, धेरै
तन्तन्याएर वशमा राख्न सकिनँ, तर
जिन्दगीभरि तन, मनमा स्पर्श चुम्बन गरिरह्यौँ
मैले त छोड्नै सक्दिनँ, अँगालोमै
तिमी चिप्लिरह्यौ ।
त्यस्तो सान्निध्यता खै कससँग होला र
लाग्दैन, तिम्रो सट्टा अरू कोही केही छ, किनकि
बिउँझिएर हेर्दा तिमी साथमै छौ
निद्रामा पनि लुटुपुटु गर्दै जिन्दगी
मैले ठानेको सर्वस्व यही हो,
बुझ्दाबुझ्दै गुज्रिएर बुझेको हो
यति चिप्लो त तिमी नै हौ, तर
सधैँ साथमा, माथमा पनि थियौ
भोगेँ मज्जैले भोगेँ, तर कसरी,
सधैँ आलिङ्गनमा टाँसिएर
न हात नै उचाल्न सकेँ
न तिमीलाई छोड्न नै सकेँ
तिमीले पनि त साथ, अहिलेसम्म दिएकै हौ
टाँसिएर चुम्बन,
तिम्रो साथ त छ तर कति अंश बाँकी छ
मेरानिम्ति अपरिचित तिमीले
धन्य हो, सधैँ साथ दियौ, साथ लियौ
मैले चिनिनँ, तर नचिन्दै
तिमी त छोडपत्र लेख्न थालिछौ
विवश छु म
जिन्दगी साथ दिनेको छोडपत्र मान्न, किनकि
कसैले काल भने, कसैले बेला
समुच्चा बुझ्न, तिमी समय हौ । बस्…