नेपाल

रुकुमपूर्वको रल गाउँमा जङगली च्याउ खाँदा सात जना बिरामी

रुकुमपश्चिम। रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका —२ को रल गाउँमा जङगली च्याउ खाँदा सातजना बिरामी भएका छन् ।

जिल्लाको विकट तथा दुर्गम गाउँ रलमा शनिबार बिहान बिरामी भएका उहाँहरुलाई हेलिकप्टरबाट उद्धार गर्ने प्रयास असफल भएपछि पाँच घण्टा पैदल हिँडेर गएका स्वास्थ्यकर्मीले ज्यान जोगाएका छन् ।

स्थानीय ६० वर्षीय धर्मटेक पुन, ३२ वर्षीय लोकेन्द्र पुन, ३४ वर्षीय रचन पुन, ४३ वर्षीय खडक पुन, ३७ वर्षीया रथना पुन, ४१ वर्षीय दन्त रोका र ४९ वर्षीय बरण रोका बिरामी हुनुभएको हो ।

रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी कोपिला राईका अनुसार शनिबार बिहान जङगलबाट ल्याएको च्याउ खाँनासँगै खाएपछि उहाँहरु बिरामी परेको खबर आएको थियो । उहाँहरुमा बान्ता हुने, टाउको दुख्ने, पखाला लाग्ने, बेहोस् हुनेजस्ता समस्या देखिएको थियो । दुर्गम र विकट गाउँमा घटना घटेको र स्वास्थ्य अवस्था चिन्ताजनक रहेको भनेर स्थानीयले खबर गरेपछि उद्धारको लागि हेलिकप्टर ल्याउने सबै प्रक्रिया पूरा गरिएको थियो ।

खराब मौसमको कारण हेलिकप्टर जाने अवस्था नै नभएको प्रमुख जिल्ला अधिकारी कोलिपा राईले जानकारी दिनुभयो । शनिबार दिनभर हेलिकप्टर पठाउने तयारी गरिएको तर सफल हुन नसकेको उहाँले बताउनुभयो । उहाँका अनुसार मैकोटबाट घण्टौ हिँडेर गएका स्वास्थ्यकर्मीहरुले बिरामीको ज्यान जोगाउनु भएको छ ।

शनिबार दिनभर, राति अबेला र आज बिहान पनि बिरामीका आफन्तजन, प्रमुख जिल्ला अधिकारी, जिल्लाको सुरक्षा निकायको टोली, जिल्ला अस्पताल र गाउँपालिकाको टोलीले समन्वयमा गरिरहेको छ । बिरामीका आफन्तले स्वास्थ्य अवस्था सुधार भएकाले अब हेलिकप्टर आवश्यक नपर्ने भनेर खबर गरेको प्रजिअ राईले जनाउनुभयो ।

पुथा उत्तरगंगा गाउँपालिकाका स्वास्थ्य शाखाका सहसंयोजक कलिभान बिष्टका अनुसार अहिले उहाँहरुको स्वास्थ्य अवस्था सामान्य बन्दै गइरहेको छ । वडा नम्वर १ को मैकोटमा रहेको स्वास्थ्य चौकीबाट तीन जना स्वास्थ्यकर्मीहरु करिब पाँच घण्टा पैदल हिडेर बिरामीहरुको उपचारका लागि रल गाउँ पुगेको बिष्टले जानकारी दिनुभयो ।

प्यारामेडिक्स दिपेन्द्र शाही र सन्तोष कापर र नर्सिङ निर्मला पुन गएराति ११ बजे बिरामीको घरमा पुगेर उपचार गरेपछि बिरामीहरुको अवस्था सामान्य बन्दै गएको छ । बिरामीहरु हिड्न सक्ने भएपछि थप चेकजाँचको लागि मैकोटस्थित स्वास्थ्य चौकीमा ल्याउने सल्लाह भइरहेको सहसंयोजक बिष्टले बताउनुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्