साहित्य

छोडपत्र

कति प्रयोग गरेँ तिमीलाई

उपयोग तिमीलाई कति गरेँ

भन्न सक्दिनँ, तर

दुरुपयोग गरेको चाहिँ बुझेको छु, धेरै

तन्तन्याएर वशमा राख्न सकिनँ, तर

जिन्दगीभरि तन, मनमा स्पर्श चुम्बन गरिरह्यौँ

मैले त छोड्नै सक्दिनँ, अँगालोमै

तिमी चिप्लिरह्यौ ।

त्यस्तो सान्निध्यता खै कससँग होला र

लाग्दैन, तिम्रो सट्टा अरू कोही केही छ, किनकि

बिउँझिएर हेर्दा तिमी साथमै छौ

निद्रामा पनि लुटुपुटु गर्दै जिन्दगी

मैले ठानेको सर्वस्व यही हो,

बुझ्दाबुझ्दै गुज्रिएर बुझेको हो

यति चिप्लो त तिमी नै हौ, तर

सधैँ साथमा, माथमा पनि थियौ

भोगेँ मज्जैले भोगेँ, तर कसरी,

सधैँ आलिङ्गनमा टाँसिएर

न हात नै उचाल्न सकेँ

न तिमीलाई छोड्न नै सकेँ

तिमीले पनि त साथ, अहिलेसम्म दिएकै हौ

टाँसिएर चुम्बन,

तिम्रो साथ त छ तर कति अंश बाँकी छ

मेरानिम्ति अपरिचित तिमीले

धन्य हो, सधैँ साथ दियौ, साथ लियौ

मैले चिनिनँ, तर नचिन्दै

तिमी त छोडपत्र लेख्न थालिछौ

विवश छु म

जिन्दगी साथ दिनेको छोडपत्र मान्न, किनकि

कसैले काल भने, कसैले बेला

समुच्चा बुझ्न, तिमी समय हौ । बस्…

About the author
कुलचन्द्र वाग्ले

कुलचन्द्र वाग्ले

(आफूलाई वरिष्ठ पत्रकार भन्न रुचाउने कुलचन्द्र वाग्ले सत्ताको स्वाद लामो समय चाखेका नेपाली संचार जगतका चिरपरिचित नाम हुन्।)

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्