साहित्य

महाकवि देवकोटाको स्मरण

काठमाडौँ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औँ जन्मजयन्ती कविता वाचनलगायत विविध कार्यक्रमसहित मनाइएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा  महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालयमा आइतबार आयोजित कार्यक्रममा १५ कविले कवितामार्फत महाकविको स्मरण गरे । 

प्रतिष्ठानका कुलपति भूपाल राईले देवकोटा सङ्ग्रहालय मन्त्रालय अन्तर्गत राखेर राज्यले नै संरक्षण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले हाल सो सङ्ग्रहालय प्रतिष्ठान अन्तर्गत राखिएकोले बजेट, कार्यक्रमको कमीले सङ्ग्रहालय चलायनमान बनाउन नसकिएको बताउनुभयो ।

प्रतिष्ठानका कुलपति राईले साहित्यकार सेक्सपियरका निवासलाई हालसम्म संरक्षण गरिराखेको, चीनको छेन्दु सहरमा १३ सय वर्षपहिलेका कवि तुफुको घरलाई हालसम्म संरक्षण गरिएको चर्चा गर्दै देवकोटाको पुरानो निवासलाई जस्ताको तस्तै सङ्ग्रहालयमा परिणत गरी संरक्षण गरिनुपर्नेमा नयाँ संरचना निर्माण गरिएकोमा अलि नमिलेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।

नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउनुभएका बहुमुखी प्रतिभाका धनी महाकवि विसं १९६६ कात्तिक २७ गते तिहारको लक्ष्मीपूजाको दिन काठमाडौँमा जन्मिनुभएको थियो । सो अवसरमा डा. बालकृष्ण अधिकारीले देवकोटाको व्यक्तित्व र कृतित्वमाथि अवधारणापत्र प्रस्तुत गर्नुभयो । उहाँले पण्डित तिलमाधव र अमर राज्यलक्ष्मी देवीका छोराका रूपमा जन्मनुभएका देवकोटा घरको वातावरणबाटै प्रेरित भएर सानै उमेरदेखि कविता लेख्दै साहित्य क्षेत्रमा प्रवेश गर्नुभएको बताउनुभयो ।

देवकोटामा धाराप्रवाह कविता लेख्न सक्ने प्रतिभा भएकै कारण ‘शाकुन्तल’ महाकाव्य तीन महिनामा, सुलोचना महाकाव्य १० दिनमा र ‘कुन्जिनी’ एकै दिनमा लेख्नुभएको बताउनुभयो ।  तत्कालीन समयको प्रचलित लोक भाकामा लेखिएको ‘मुनामदन’ कृतिले निकै चर्चा पायो । सो कृति आजपर्यन्त नयाँ संस्करण छापिरहेको छ । त्यसै गरी ‘पागल’ नेपाली कवितालाई अङ्ग्रेजीमा भाषामा अनुवाद गरेर अन्तर्राष्ट्रिय गर्ने व्यक्तित्व पनि उहाँ नै हुनुहुन्छ । देवकोटा साहित्यकार मात्र नभई शिक्षक, राजनीतिज्ञ शिक्षामन्त्रीको समेत जिम्मेवारी निर्वाह गर्नु हुँदा उच्च शिक्षा हासिल गर्न त्रिभुवन विश्वविद्यालयको स्थापना गर्ने व्यक्तित्वका रूपमा रहनुभएको बताउनुभयो ।

नेपाली साहित्यलाई राष्ट्रिय/अन्तर्राष्ट्रिय उचाइमा पु¥याउन सफल महाकवि देवकोटाको कृतित्व र व्यक्तित्वका बारेमा खोज अनुसन्धान गरी विद्यावारिधि भइरहेको बताउनुभयो । सो अवधारणापत्रमाथि टिप्पणी गर्दै समालोचक सुधा मैनालीले देवकोटाका बारेमा सन् २०२४ र २०२५ मा पनि अन्तर्राष्ट्रिय रूपमा थुप्रै खोज अनुसन्धान भइरहेको सन्दर्भ राख्दै उहाँको योगदानको सदैव चर्चा भइरहने बताउनुभयो ।

महाकवि देवकोटाका पुत्र प्राडा पद्मप्रसाद देवकोटाले आफ्ना पिताको साहित्यिक र पारिवारिक व्यक्तित्वको भिन्नताबारे चर्चा गर्दै कविता वाचन गरी पिताप्रति समर्पित गर्नुभयो । विसं २०१५ मा क्यान्सर भएपछि देवकोटाको उपचारकै क्रममा विसं २०१६ भदौ २९ गते निधन भएको थियो  । महाकवि देवकोटाका महाकाव्य, निबन्ध, कविता, गीतलगायतका कृति ‘मुनामदन’, ‘सुलोचना’, ‘शाकुन्तल’, ‘कुन्जिका’,  ‘पहाडी पुकार पुतली’ (बालकविता)  ‘भिखारी’, ‘सुनको बिहान’, ‘छहरा’, ‘जन्मोत्सव’ र ‘मुटुको थोपा’, मृत्यु शय्याबाट प्रकाशित छन् ।

त्यसै गरी ‘चिल्ला पातहरू’, ‘गाइने गीतहरू’  ‘भावना गाङ्गेय’, ‘आकाश बोल्छ’, ‘छाँगासँग कुरा’, ‘लक्ष्मी कवितासङ्ग्रह’, ‘लक्ष्मी गीतसङ्ग्रह’, खण्डकाव्यहरू ‘मुनामदन’, ‘राजकुमार प्रभाकर’, ‘कुन्जिनी’, वसन्ती गीतिकाव्य ‘मैना’, ‘सुन्दरी जर्पिना’, ‘रावण जटायु युद्ध’, ‘म्हेन्दु  लुनी’, ‘सीता हरण’, ‘मायाविनी सर्सी’, ‘नवरस’ कोश काव्य प्रकाशित छन् । उहाँका निबन्धहरू ‘भलादमी’, ‘फूल’, ‘पहाडी जीवन’, ‘हाई हाई अङ्गेजी’, ‘के नेपाल सानो छ’, ‘कला र जीवन’, ‘कल्पना’, ‘साधुको महात्म्य’, ‘निद्रा श्रीपञ्चमीको दिन मेरो पाल्पा तानसेनतर्फको यात्रा’ आदि प्रकाशित छन् ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.